साइबर घटनापछि बेलायतको ‘डी डब्ल्यूपी’ का केही अनलाइन सेवा बन्द
- १२ मंसिर २०८३
- १ मिनेटको पढाई
लन्डन- बेलायतको कार्य तथा पेन्सन विभागले आफ्ना प्रणालीमा साइबरसम्बन्धी घटना देखिएपछि केही अनलाइन सेवा अस्थायी रूपमा बन्द गरेको छ ।
विभागले शुक्रबार घटनाबारे जानकारी दिँदै प्रभावित प्रणालीको अनुसन्धान र सेवा फर्काउने काम भइरहेको बताएको छ । यसका लागि विभागले राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सरकारी साइबर समन्वय केन्द्रसँग मिलेर काम गरिरहेको छ । असुविधा कम गर्दै सकेसम्म छिटो सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको विभागले जनाएको छ ।
विभागका अनुसार नियमित सामाजिक सुरक्षा भत्ता र पेन्सन भुक्तानीमा भने कुनै असर पर्ने छैन । ती रकम तोकिएको समयमै नियमित रूपमा दिइनेछ ।
सहयोग चाहिने सेवाग्राहीले आफ्नो नियमित भत्ता सहायता नम्बरमा फोन गर्न सक्नेछन् र विभागका कर्मचारीले सहयोग गर्नेछन् । बेलायती सञ्चारमाध्यमका अनुसार यो घटनाले लाखौँ मानिसलाई केही अनलाइन भत्ता र पेन्सन सेवा लिन समस्या भएको छ ।
बेलायतका कार्य तथा पेन्सनमन्त्री प्याट म्याकफ्याडनले यसलाई गम्भीर साइबर घटना भने । उनले घटनाको कारणबारे अहिले नै थप भन्न नसकिने बताए ।