सुरक्षण मुद्रण केन्द्रमा मासिक ६२ हजार स्मार्ट लाइसेन्स छपाइ हुँदै
- १२ मंसिर २०८३
- १ मिनेटको पढाई
काभ्रेपलाञ्चोकको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रमा मासिक सरदर ६२ हजार स्मार्ट चालक अनुमति पत्र (लाइसेन्स) छापिन थालेको छ । देशभरका यातायात व्यवस्था कार्यालयबाट प्राप्त विवरणका आधारमा केन्द्रले ‘क्युआर–कोड’ सहितको लाइसेन्स छपाइ गरिरहेको हो ।
केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाका अनुसार चालु आर्थिक वर्षको साउन महिनायता मात्रै दुई लाख ५० हजार थान लाइसेन्स छापिइसकेको छ । त्यसअघि असार मसान्तसम्मको अवधिमा २७ लाख ४७ हजार लाइसेन्स छापेर सम्बन्धित कार्यालयमा पठाइएको थियो ।
विभागसँगको सम्झौताअनुसार पहिलो चरणमा १२ लाख र दोस्रो चरणमा १५ लाख ४७ हजार थान लाइसेन्स छापिएको हो । अहिले नयाँसँगै पुराना (ब्याकलग) लाइसेन्सको छपाइ पनि सँगसँगै भइरहेको तिमिल्सिनाले बताए । गत आर्थिक वर्षमा केन्द्रले हुलाक सेवा विभागका लागि करिब ९० लाख थान हुलाक टिकटसमेत छापेको थियो ।
हाल नौ जना इन्जिनियर र १६ जना प्राविधिक गरी २५ जना कर्मचारीले केन्द्रमा काम गरिरहेका छन् । प्रयोगविहीन अवस्थामा रहेको पुरानो सूचना–प्रविधि पार्कलाई ६ वर्षअघि सरकारले सुरक्षण मुद्रण केन्द्रमा परिणत गरेको थियो ।
केन्द्रमा राहदानी, बैंक नोट, स्मार्टकार्ड, हुलाक टिकट र अन्तःशुल्क स्टिकरलगायतका संवेदनशील सामग्री छपाइ गर्न सकिन्छ । यो प्रेस पूर्ण रूपमा सञ्चालनमा आएपछि सुरक्षित छपाइका लागि नेपालबाट वार्षिक रूपमा बाहिरिने करिब १० अर्ब रुपैयाँ जोगिने अपेक्षा गरिएको छ ।