१३ मंसिर २०८३, आइतवार
29 November 2026, Sunday

कुर्कुच्चाको नसाको सफल शल्यक्रियापछि न्युयोर्कका मेयर ममदानी निवास फर्किए

कुर्कुच्चाको नसाको सफल शल्यक्रियापछि न्युयोर्कका मेयर ममदानी निवास फर्किए

न्युयोर्क – न्युयोर्क सहरका मेयर जोहरान ममदानी फुटबल खेल्ने क्रममा च्यातिएको कुर्कुच्चाको नसा (अकिलिस टेन्डन) को सफल शल्यक्रियापछि सरकारी निवास ‘ग्रेसी म्यानसन’ फर्किएका छन् । गत साता पत्रकारहरूसँगको मैत्रीपूर्ण फुटबल खेलका क्रममा घाइते भएका उनको शुक्रबार शल्यक्रिया गरिएको हो ।

प्रेस सचिव जो क्यालभेलोका अनुसार शुक्रबार बिहान ११:३३ बजे सुरु भएको शल्यक्रिया करिब एक घण्टामा सफलतापूर्वक सम्पन्न भएको थियो । अस्पतालबाट डिस्चार्ज भई निवासमा आराम गरिरहेका मेयर ममदानी पूर्ण रूपमा निको हुने अपेक्षा गरिएको छ । उनको अनुपस्थितिमा प्रथम उपमेयर डिन फुलेहानले दैनिक प्रशासनिक कामकाज सम्हाल्नेछन् ।

३५ वर्षीय मेयर ममदानीले खेलअघि शरीर तन्काउने अभ्यास (वार्मअप) नगरेका कारण चोट लागेको बताएका छन् । चोट लाग्नुअघि उनले गोल गर्नुका साथै पत्रकारहरूको टोलीलाई पराजित गर्न सफल भएका थिए ।

शल्यक्रियापछि अबको ६ देखि ८ सातासम्म उनले विशेष मेडिकल बुट र वैशाखीको सहारा लिनुपर्नेछ भने मैदानमा फर्कन करिब नौ महिना लाग्ने बताइएको छ । आँधीका कारण शनिबारका लागि सारिएको ‘मेसीज थ्याङ्क्सगिभिङ डे परेड’ को १००औँ संस्करणमा स्वास्थ्य लाभ गरिरहेका कारण उपस्थित हुन नपाएकोमा उनले दुःख व्यक्त गरेका छन् ।