शक्तिशाली आँधीपछि अमेरिकाको न्युयोर्क क्षेत्रको जनजीवन सामान्य बन्दै
- १२ मंसिर २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको न्युयोर्क, न्युजर्सी र कनेक्टिकट (ट्राइ–स्टेट) क्षेत्रमा ‘थ्याङ्क्सगिभिङ डे’ का दिन आएको शक्तिशाली आँधी र वर्षापछिको सरसफाइ सुरु भएको छ। बिहीबार चलेको तीव्र हावाहुरी र तटीय क्षेत्रमा आएको बाढीका कारण त्यस क्षेत्रको जनजीवन नराम्ररी प्रभावित भएको थियो।
आँधीका कारण न्युयोर्क सहरका विभिन्न स्थानमा रूखहरू ढल्नुका साथै सडक अवरुद्ध भएका छन्। बुधबार राति अपर वेस्ट साइडस्थित ७३औँ स्ट्रिटमा निर्माणका लागि बनाइएको खट (स्काफोल्डिङ) भत्किएको थियो भने क्विन्स र ब्रुकलिनका मुख्य सडकहरूमा रूख ढल्दा आवागमनमा समस्या आएको छ ।
खराब मौसमकै कारण इतिहासमा पहिलो पटक ‘मेसीज थ्याङ्क्सगिभिङ डे परेड’ स्थगित गरी शनिबार बिहानका लागि सारिएको छ। परेडका दिन शनिबार मौसम केही चिसो र बादल लागे पनि बेलुन उडाउन मिल्ने गरी हावाको गति सामान्य रहने मौसमविद्हरूले बताएका छन् । आइतबार रातिदेखि सोमबार बिहानसम्म सामान्य वर्षाको सम्भावना रहे पनि सप्ताहन्तको यात्रा भने सहज हुने जनाइएको छ ।