१० मंसिर २०८३, बिहिबार
26 November 2026, Thursday

थ्याङ्क्सगिभिङको अवसरमा नवराज केसीद्वारा शुभकामना व्यक्त

थ्याङ्क्सगिभिङको अवसरमा नवराज केसीद्वारा शुभकामना व्यक्त

न्युयोर्क – थ्याङ्क्सगिभिङ (Thanksgiving Day) पर्वको अवसरमा हामी नेपाली इन्टरनेशनलका संस्थापक अध्यक्ष नवराज केसीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

उनले एक सन्देश जारी गर्दै अमेरिकामा बसोबास गर्ने नेपाली समुदाय लगायत विश्वभर छरिएर रहेका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका हुन्।

थ्याङ्क्सगिभिङ आपसी प्रेम, कृतज्ञता, पारिवारिक एकता र सामाजिक सहकार्यको पर्व भएको केसीले उल्लेख गरेका छन्। जीवनमा प्राप्त उपलब्धि र सहयोगप्रति आभार व्यक्त गर्दै यस पर्वले मानवता, परोपकार र सेवाभावलाई अझ बलियो बनाउने सन्देश दिने उनको भनाइ छ।

विविध भाषा, धर्म र संस्कृतिबीच आपसी सम्मान र भाइचारा बढाउन यो पर्वको विशेष महत्त्व रहेको उनले बताए। उनले समाजमा सकारात्मक परिवर्तन ल्याउन एकअर्काप्रति सहयोग र सद्भाव कायम राख्दै हातेमालो गर्न सम्पूर्ण समुदायलाई आह्वान समेत गरेका छन्।

पछिल्लो समय अमेरिका लगायतका पश्चिमा देशमा बसोबास गर्ने नेपाली समुदायले पनि थ्याङ्क्सगिभिङलाई पारिवारिक भेटघाट र सद्भाव साटासाट गर्ने अवसरका रूपमा मनाउन थालेका छन्। व्यस्त जीवनशैलीका बीच मिल्ने लामो बिदाले टाढिएका आफन्तलाई एकै ठाउँमा जम्मा हुन र मौलिक परिकारका साथ रमाइलो गर्न सघाउ पुर्‍याएको छ।