१० मंसिर २०८३, बिहिबार
26 November 2026, Thursday

लैङ्गिक हिंसा घरबाटै सुरु हुन्छ, परिवारबाटै अन्त्यको अभियान थाल्नुपर्नेमा सरोकारवालाको जोड

लैङ्गिक हिंसा घरबाटै सुरु हुन्छ, परिवारबाटै अन्त्यको अभियान थाल्नुपर्नेमा सरोकारवालाको जोड

काठमाडौँ – शिक्षित र सम्पन्न परिवारमा समेत दाइजो तथा विभिन्न बहानामा महिलामाथि हुने घरेलु हिंसा नरोकिएको अधिकारकर्मीहरूले बताएका छन्। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा हिंसा घट्नुको साटो स्वरूप बदलिएर झन् बढ्दै गएको उनीहरूको निष्कर्ष छ।

अधिवक्ता एवं महिला अधिकारकर्मी रसना ढकालका अनुसार काठमाडौँजस्तो सहरमा समेत दाइजो नल्याएको भन्दै श्रीमान् र परिवारबाट मानसिक यातना भोग्ने महिलाको सङ्ख्या उल्लेख्य छ। सहर र घरको उचाइ हेरेर व्यक्तिको चेतना मापन गर्न नसकिने उनले बताइन्। अभियानलाई सबैले बुझ्ने र अपनत्व महसुस गर्ने गरी रचनात्मक ढङ्गले चलाउनुपर्ने उनको भनाइ छ।

अधिकारकर्मी झुमा (नाम परिवर्तन) ले अरूको अधिकारका लागि लडे पनि आफ्नै परिवारभित्र हिंसारहित वातावरण बनाउन निकै सङ्घर्ष गर्नुपरेको अनुभव सुनाइन्। घरपरिवारबाटै हिंसा हटाउन नसकिए नीति र कानुनले मात्र हिंसा अन्त्य नहुने उनले बताइन्।

राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले पनि घरपरिवार र आफन्तबाटै हिंसालाई प्रश्रय मिलिरहेको बताइन्। जनचेतनाको अभावले गर्दा वार्षिक अभियान चले पनि हिंसामा कमी नआएको भन्दै उनले घरका सदस्यदेखि राज्य र न्यायिक निकाय सबै मिलेर हिंसा निर्मूल पार्नुपर्नेमा जोड दिइन्।

सरकारी तथ्याङ्कले पनि हिंसाको मुख्य केन्द्र घरपरिवार नै रहेको देखाउँछ। राष्ट्रिय महिला आयोगमा चालु आर्थिक वर्ष २०८३/८४ को साउन, भदौ र असोज महिनामा मात्र घरेलु हिंसाका ६५ वटा उजुरी दर्ता भएका छन्।

यस्तै, नेपाल प्रहरीको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार देशभर महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाका २१ हजार ६६७ उजुरी परेका थिए। तीमध्ये ८१ प्रतिशत अर्थात् १७ हजार ४९६ वटा घटना घरेलु हिंसाका छन्। घरेलु हिंसामा मानसिक यातना ५१ दशमलव ८६ प्रतिशत, शारीरिक हिंसा ४० दशमलव ०८ प्रतिशत र आर्थिक हिंसा ७ दशमलव ९९ प्रतिशत रहेको छ। प्रदेशगत रूपमा मधेस प्रदेशमा सबैभन्दा बढी ६ हजार ९४३ र गण्डकीमा सबैभन्दा कम ८५० वटा घटना दर्ता भएका छन्।

नेपालमा घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ तथा मुलुकी अपराध संहिता, २०७४ लगायतका कानुन कार्यान्वयनमा रहे पनि व्यावहारिक रूपमै घरबाट सुधार थाल्नुपर्ने देखिएको छ। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइन्छ।