अन्तरिक्षमा डाटा सेन्टर बनाउन स्पेसएक्सलाई १० लाख स्याटेलाइट प्रक्षेपणको अनुमति
- १० मंसिर २०८३
- १ मिनेटको पढाई
न्युयोर्क – अमेरिकी सरकारको डोनाल्ड ट्रम्प प्रशासनले एलन मस्कको कम्पनी स्पेसएक्सलाई अन्तरिक्षमा डाटा सेन्टर स्थापना गर्न १० लाख स्याटेलाइट प्रक्षेपण गर्ने अनुमति दिएको छ। अमेरिकी सङ्घीय सञ्चार आयोग (एफसीसी) ले सन् २०४० सम्म कायम रहने गरी यो स्वीकृति प्रदान गरेको हो।
यो अनुमतिसँगै स्पेसएक्सको ‘स्टारमाइन्ड’ सञ्जालले पृथ्वीमा प्रयोगका लागि ठूलो परिमाणमा डाटा प्रशोधन गर्नेछ। कम्पनीले सन् २०२७ को अन्त्यतिर पहिलो स्याटेलाइट पठाउने र सन् २०२८ देखि सञ्जाल विस्तार गर्ने योजना बनाएको छ। यसका लागि अन्तरिक्षमा प्रयोग गर्न विशेष रूपले बनाइएका एनभिडियाका नयाँ पुस्ताका ‘भेरा रुबिन’ प्रोसेसर जडान गर्ने सम्झौता समेत भइसकेको छ।
अन्तरिक्षमा डाटा सेन्टर बनाउने होडमा गुगल, जेफ बेजोसको ब्लु ओरिजिन र स्टारक्लाउड जस्ता कम्पनी पनि प्रतिस्पर्धामा छन्। अन्तरिक्षमा रहने स्याटेलाइटले निरन्तर सौर्य ऊर्जा पाउने र पृथ्वीका डाटा सेन्टरभन्दा आठ गुणासम्म बढी प्रभावकारी रूपमा ऊर्जा सङ्कलन गर्न सक्ने यसका पक्षधरहरूको तर्क छ।
तर, खगोलविद् र वातावरणविद्हरूले भने यो निर्णयप्रति चिन्ता व्यक्त गरेका छन्। यति धेरै सङ्ख्या र ठूला आकारका स्याटेलाइट रातको आकाशमा चम्किला देखिँदा खगोलीय अध्ययनमा बाधा पुग्ने भन्दै अमेरिकन एस्ट्रोनोमिकल सोसाइटीले असन्तुष्टि जनाएको छ। यस्तै, अर्थजस्टिसका वरिष्ठ अधिवक्ता जान ह्यासेलम्यानले पनि यसको विस्तारले जनजीवन र पृथ्वीको भविष्यमा प्रत्यक्ष असर पार्ने बताए।
विज्ञहरूका अनुसार अन्तरिक्षको उच्च विकिरण, चरम तापक्रम, अन्तरिक्षका भग्नावशेष र सूक्ष्म उल्कापिण्डबाट स्याटेलाइट तथा प्रोसेसरलाई जोगाउनु कम्पनीका लागि मुख्य चुनौती हुनेछ। स्पेसएक्सले गत जुन महिनामा बजार प्रवेश गर्दा करिब ८५ अर्ब ७० करोड अमेरिकी डलर पुँजी सङ्कलन गरेको थियो।