१३ मंसिर २०८३, आइतवार
29 November 2026, Sunday

खराब मौसमका कारण स्थगित भयो ‘मेसीज थ्याङ्क्सगिभिङ डे परेड’, कहिले र किन बनाइएको थियो बेलुन उडाउने नियम ?

खराब मौसमका कारण स्थगित भयो ‘मेसीज थ्याङ्क्सगिभिङ डे परेड’, कहिले र किन बनाइएको थियो बेलुन उडाउने नियम ?

न्युयोर्क- न्युयोर्कमा १०२ वर्षको इतिहासमा पहिलो पटक खराब मौसमका कारण ‘मेसीज थ्याङ्क्सगिभिङ डे परेड’ स्थगित भएको छ। तीव्र हावाहुरी र वर्षाको चेतावनीपछि १००औँ संस्करणको यो परेड बिहीबारको सट्टा शनिबार बिहान ८:३० बजेका लागि सारिएको हो ।

यसअघि सन् १९७१ मा खराब मौसमका कारण बेलुनहरू नउडाइए पनि परेड भने रोकिएको थिएन । दोस्रो विश्वयुद्धताका सामग्रीको अभावमा सन् १९४२ देखि १९४४ सम्म तीन पटक रद्द भए पनि मौसमकै कारण परेडको मिति सारिएको यो पहिलो घटना हो ।

यस वर्ष तीव्र हावाहुरीका कारण विशाल बेलुनहरू उडाउन सुरक्षा मापदण्ड बाधक बन्ने चिन्ता गरिएको थियो । न्युयोर्क सहरले सन् १९९८ देखि परेडका बेलुन उडाउन हावाको गतिसम्बन्धी कडा नियम लागू गरेको हो ।

सन् १९९७ को परेडमा करिब ४० माइल प्रतिघण्टाको वेगमा चलेको हावाले ‘क्याट इन द ह्याट’ बेलुनलाई बिजुलीको खम्बामा ठोक्काउँदा खम्बाको फलामे टुक्रा खसेर एक दर्शक गम्भीर घाइते भएकी थिइन् । सोही वर्ष तीव्र हावाकै कारण ‘बार्नी’ बेलुनसमेत च्यातिएको थियो ।

त्यही दुर्घटनापछि सन् १९९८ बाट लागू हुने गरी नया सुरक्षा मापदण्ड बनाइएको हो । जसअनुसार हावाको निरन्तर गति २३ माइल प्रतिघण्टाभन्दा बढी भएमा वा हावाको झोक्का ३४ माइल प्रतिघण्टा नाघेमा परेडका बेलुन उडाउन प्रतिबन्ध लगाइएको छ ।