१३ मंसिर २०८३, आइतवार
29 November 2026, Sunday

भोटेकोशीलगायतका बिपत्तिमा परेकाहरुको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ

भोटेकोशीलगायतका बिपत्तिमा परेकाहरुको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ

भोटेकोशी बाढीसहित विभिन्न बिपत्ति, दुर्घटना र महामारीमा ज्यान गुमाएकाहरूको सम्झनामा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पितृमुक्ति महायज्ञ हुने भएको छ। मङ्सिर २० गतेदेखि तीन दिनसम्म यो अनुष्ठान चल्नेछ।

मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा मङ्सिर १ गतेदेखि त्यहाँ अष्टाचल धनधान्यञ्चल विराट महायज्ञ भइरहेको छ। यसै महायज्ञको एक भागका रूपमा दिवङ्गत आत्माको शान्ति र मुक्तिका लागि पितृमुक्ति महायज्ञ आयोजना गरिएको हो।

अनुष्ठानमा सामूहिक प्रार्थना, भागवत पाठपारायण, तिलाञ्जली, एकाहा पाठ, तर्पण र नारायणबलि जस्ता कर्म गरिनेछन्। यसका साथै वैदिक शास्त्र पाठ, जप, ध्यान, हवन, पाँच करोड २५ लाख दीप प्रज्वलन, १०८ कन्या पूजन र धान्याञ्चल अनुष्ठान पनि हुनेछन्।

महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यका अनुसार आफन्तहरूले कर्ताका रूपमा सहभागी भएर कर्म गर्न सक्नेछन्। त्यसका लागि दिवङ्गत व्यक्तिको नाम, गोत्र र तस्बिर उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

विराट महायज्ञ सुरु हुनुअघि कात्तिक ८ गते मुक्तिनाथबाट रथयात्रा निकालिएको थियो। देशका विभिन्न धार्मिकस्थल घुम्दै उक्त रथयात्रा त्रिवेणीधाम पुगेको थियो।

स्वामी कमलनयनाचार्यले नेपालमा वैदिक विश्वविद्यालय खोल्ने र धार्मिक पर्यटन तथा वैदिक ज्ञानको केन्द्रका रूपमा देशलाई चिनाउने उद्देश्यले महायज्ञ गरिएको बताए। उनले सबै धर्मावलम्बीलाई अनुष्ठानमा सहभागी हुन आह्वान गरे।