बालेन सरकार टिक्नेमा रास्वपाकै कारण शंका : लक्ष्मण केसी
- १२ मंसिर २०८३
- १ मिनेटको पढाई
हिमालय टेलिभिजनको ‘समय सन्दर्भ’ कार्यक्रममा रबिन्द्र सुवेदीसँग कुराकानी गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा इन्जिनियर लक्ष्मण केसीले हालको सरकार टिक्ने कुरामा अन्य दलभन्दा पनि रास्वपाकै कारण शंका रहेको बताएका छन्।
केसीका अनुसार सरकारले गरेका विभिन्न काम र प्रकरणहरूले जनभरोसा घट्दै गएको छ । उनले आइजी प्रकरण, पासपोर्ट ठेक्का प्रकरण, सुनसरी-मोरङ ठेक्का सम्बन्धी विषय, सहसचिव र प्रोजेक्ट म्यानेजरलाई प्रधानमन्त्री कार्यालय बोलाइएको घटना तथा सुकुमबासी हटाउने र वैकल्पिक व्यवस्थापन नगर्ने विषयलाई उदाहरणका रूपमा उठाए ।
प्रधानमन्त्रीको भारत भ्रमणपछि जानकारी सार्वजनिक नगरिएको र विपक्षी दलसँग संवाद नगरेको विषयमा पनि उनले प्रश्न उठाए । कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका केसीले आफू पहिले सिडेनको अध्यक्ष रहँदादेखि नै पार्टीको विकास निर्माण र प्राविधिक विषयमा नजिकबाट जोडिएको बताए । पार्टीभित्रको आन्तरिक विवाद र समानान्तर गतिविधिबारे उनले लोकतान्त्रिक पार्टीमा फरक विचार हुनु स्वाभाविक भए पनि निर्वाचनसम्म सबै पक्ष मूलधारमै जोडिएर एकढिक्का हुने विश्वास व्यक्त गरे ।
उनका अनुसार कांग्रेसले ‘हामी तयार छौँ’ अभियानमार्फत पालिकादेखि टोलसम्म पुगेर जनताका समस्या, विकास निर्माण र नीतिगत विषयमा छलफल गरिरहेको छ ।
शहरी विकास र इन्जिनियरिङका विषयमा बोल्दै केसीले काठमाडौं उपत्यकालाई एकीकृत मास्टर प्लान अन्तर्गत राखेर विकास गर्नुपर्ने बताए । उनले जमिनमुनिको पानीको सतह घट्दै गएको र ढुंगेधारा सुक्दै गएकाले रिचार्ज जोन छुट्याउनुपर्ने, असन वा ठमेलजस्ता ठाउँमा कार फ्री जोन बनाउने तथा रिङ रोडमा डेडिकेटेड लेनको व्यवस्था गर्नुपर्ने धारणा राखे ।
सडक दुर्घटना न्यूनीकरणका लागि सुरक्षित पूर्वाधार, ट्राफिक शिक्षा, सवारी साधनको अवस्था जाँच र रोड सेफ्टी अडिट आवश्यक रहेको उनले बताए।