१३ मंसिर २०८३, आइतवार
29 November 2026, Sunday

बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र बिचौलिया नियन्त्रणमा गृहमन्त्रीको जोड

बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र बिचौलिया नियन्त्रणमा गृहमन्त्रीको जोड

सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गृहमन्त्री सुधन गुरुङले अनुगमन गरे । अनुगमनका क्रममा उनले बिरामीको सुरक्षा, सहज उपचार सेवा र बिचौलियाको प्रभाव नियन्त्रणमा विशेष चासो राखे ।

गृहमन्त्री गुरुङले बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने र अनावश्यक रूपमा एम्बुलेन्स छिराउने काम तुरुन्त रोक्न निर्देशन दिए । उनले बिरामीको हितलाई ध्यानमा राखी स्वास्थ्य सेवा र सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न भने ।

सोही क्रममा प्रतिष्ठानका उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार लिम्बूलगायत पदाधिकारीले अस्पतालको अवस्था, भइरहेका प्रयास र भावि योजनाबारे जानकारी गराए । गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनको अवस्थाबारे बुझे र प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन निर्देशन दिए ।

अनुगमनपछि गृहमन्त्री गुरुङले धरान–१८ को नेपाल बौद्ध गुम्बाको अवलोकन गरे । उनी आजै इटहरीमा हुने तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ ।