८ अशोज २०८३, बिहिबार
24 September 2026, Thursday

मानव जातिकै लागि खतरा बन्न सक्छ एआई: कम्पनी प्रमुखहरू

मानव जातिकै लागि खतरा बन्न सक्छ एआई: कम्पनी प्रमुखहरू

न्युयोर्क- प्रमुख आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीका प्रमुखहरूले यस प्रविधिमाथि नियन्त्रण गर्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन्। विश्वलाई बचाउन एआईको विकासमा नियमन आवश्यक रहेको उनीहरूको भनाइ छ।

एन्थ्रोपिक कम्पनीका प्रमुख डारियो एमोडेले एआईको सही व्यवस्थापन नभए यो सम्पूर्ण मानव जातिकै लागि खतरा हुन सक्ने बताए। त्यसैगरी, ओपनएआईका प्रमुख साम अल्टम्यानले एआईका कारण मानिसले भविष्यको नियन्त्रण गुमाउन सक्ने चेतावनी दिए।

बुधबार राष्ट्रसंघको सुरक्षा परिषद्‌मा बोल्दै उनीहरूले यो प्रविधि अति शक्तिशाली हुनबाट रोक्न विश्वभरका देशहरूले सुरक्षाका नियम बनाउनुपर्नेमा जोड दिए। एआईको शक्ति कुनै एउटा मात्र देश वा कम्पनीको हातमा सीमित हुन नहुने उनीहरूले बताए।

अहिले विश्वका नेताहरू मानिसको जीवन र मृत्युको निर्णय कसले गर्ने, मानिस वा मेसिन भन्ने गम्भीर प्रश्नमा छलफल गरिरहेका छन्। यसअघि मंगलबार मात्रै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ज्यानमारा रोबोटको खतरा बढिरहेको भन्दै चेतावनी दिएका थिए। विज्ञहरूले यो कुरा बढाइचढाइ नभई वास्तविकताको धेरै नजिक पुगिसकेको बताएका छन्।