रामेछापको सैपुमा अन्तरवडास्तरीय भलिबल प्रतियोगिता आयोजना हुँदै
- ०१ कार्तिक २०८३
- १ मिनेटको पढाई
रामेछाप – नमूना दीप युवा क्लबले रामेछापको सैपुमा अन्तरवडास्तरीय भलिबल प्रतियोगिता २०८३ आयोजना गर्ने भएको छ। बडादसैँ, तिहारको पावन अवसरमा रामेछापमा अन्तरवडास्तरीय भलिबल प्रतियोगिता–२०८३ आयोजना गर्न लागिएको अध्यक्ष निरोज पौडेलले जानकारी दिए। उनले कार्यकर्ता तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।
उनका अनुसार साबिक सैपु गाविस (हाल, लिखु तामाकोसी गाउँपालिका–२, सैपु) अन्तर्गतका वडाहरूबीच प्रतिस्पर्धा हुने यो प्रतियोगिता आगामी कात्तिक २ र ३ गते सञ्चालन हुनेछ। प्रतियोगिता श्री चण्डेश्वरी माध्यमिक विद्यालय, सैपु, रामेछापको खेलमैदानमा सञ्चालन गरिने अध्यक्ष पौडेलले बताए।
सचिव निरज पौडेलका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु. ५०, हजारका साथै शिल्ड, मेडल र प्रमाण–पत्र, द्वितीय हुने टोलीले नगद रु. ३०, हजार, शिल्ड, मेडल तथा प्रमाण–पत्र र तृतीय स्थान हासिल गर्ने टोलीलाई नगद रु. २०, हजार, शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ भने सान्त्वना स्थान प्राप्त गर्ने टोलीले नगद रु. १०, हजार प्राप्त गर्नेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई व्यक्तिगत विधातर्फपनि पुरस्कारको व्यवस्था रहेको छ। विधागत रूपमा उत्कृष्ट ठहरिने आउटसाइड हिटर, अपोजिट हिटर, मिडल ब्लकर, सेटर, लिबेरो र सर्भरलाई जनही नगद रु. १, हजार र प्रमाण–पत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता लिग कम नकआउट प्रणालीका साथै अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (FIVB) को प्रचलित नियमअनुसार खेलाइनेछ। सहभागी हुने खेलाडी लिखु तामाकोसी गाउँपालिका–२, सैपुको स्थायी बासिन्दा हुनुपर्नेछ भने आफ्नो स्थायी बसोबास रहेको वडाबाट मात्र सहभागी हुन पाइनेछ। खेलाडीहरूले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात (नागरिकता, जन्मदर्ता वा राष्ट्रिय परिचयपत्र) अनिवार्य साथमा ल्याउनुपर्नेछ।