एनपीएललाई आईसीसीको आधिकारिक मान्यता, विदेशी खेलाडीलाई एनओसी अनिवार्य
- ०१ कार्तिक २०८३
- १ मिनेटको पढाई
काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक स्वीकृति पाएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा सचिव पारस खड्काले यससँगै एनपीएलको अन्तर्राष्ट्रिय विश्वसनीयता बढेको बताए। प्रतियोगितालाई निष्पक्ष र विवादरहित बनाउन आईसीसीको एन्टी–करप्सन कोड कडाइका साथ लागू गरिने क्यानले स्पष्ट पारेको छ।
आईसीसीको सर्तअनुसार एनपीएल खेल्ने सबै विदेशी खेलाडी (सन्न्यास लिइसकेका समेत) ले आफ्नो क्रिकेट बोर्डबाट अनिवार्य रूपमा ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) ल्याउनुपर्नेछ। नियमअनुसार प्रत्येक फ्रेन्चाइजले टोलीमा अधिकतम ८ जना विदेशी खेलाडी राख्न पाउनेछन् भने मैदानमा ४ विदेशी र ७ नेपाली खेलाडी अनिवार्य खेल्नेछन्। प्रतियोगितामा डीआरएस (DRS) प्रविधि भित्र्याउने तयारी पनि अन्तिम चरणमा पुगेको छ।
यसैबीच, क्यानले आगामी नोभेम्बर १९ देखि २१ सम्म काठमाडौंमा ‘आईसीसी एसिया कन्फ्रेन्स’ आयोजना गर्ने जानकारी दिएको छ। एसियाका टेस्ट र एसोसिएट राष्ट्रका प्रतिनिधिहरू सहभागी हुने उक्त सम्मेलनका अतिथिहरूलाई एनपीएलको फाइनल खेल अवलोकन गराएर नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने क्यानको योजना रहेको छ।