२८ अशोज २०८३, बुधबार
14 October 2026, Wednesday

विश्वकप लिग–२ : नेपालद्वारा ओमन ११३ रनले पराजित

विश्वकप लिग–२ : नेपालद्वारा ओमन ११३ रनले पराजित

आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले ओमनलाई ११३ रनको फराकिलो अन्तरले हराएको छ। मङ्गलबार ओमनको अल अमारात मैदानमा भएको खेलमा नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमन ४० ओभरमा १५० रनमै समेटियो।

ओमनका लागि विनायक शुक्लाले ७७ रन बनाए पनि टिमलाई हारबाट जोगाउन सकेनन्। त्यस्तै जय ओडेद्राले २५ र जतिन्दर सिंहले १८ रन जोडे। ओमनका अरू खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन्। ओमनलाई सस्तोमै रोक्न नेपालका सन्दीप लामिछाने र नन्दन यादवले ३–३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले २ तथा ललित राजवंशी र करण केसीले १–१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले सबैभन्दा धेरै ६१ रन बनाए। पुछारमा ब्याटिङ गर्न आएका करण केसीले आक्रामक खेल्दै १६ बलमै ४० रन जोडे। यस्तै, अर्जुन कुमालले ४० तथा बसिर अहमद र ईशान पाण्डेले ३७–३७ रन बनाए। बलिङतर्फ ओमनका शाह फैसल, करण सोनावाले र शकील अहमदले २–२ विकेट लिए।