३१ चैत्र २०८१, आइतवार
13 April 2025, Sunday

क्रिप्टोकरेन्सीको ‘फोर्ट नक्स’: ट्रम्पद्वारा अमेरिकी बिटकॉइन सञ्चिति स्थापनाकाे घोषणा

क्रिप्टोकरेन्सीको ‘फोर्ट नक्स’: ट्रम्पद्वारा अमेरिकी बिटकॉइन सञ्चिति स्थापनाकाे घोषणा

न्युयोर्क- राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ‘स्ट्राटेजिक बिटकॉइन रिजर्भ’ (रणनीतिक बिटकॉइन सञ्चिति) र ‘डिजिटल सम्पत्ति भण्डार’ स्थापना गर्ने निर्णय गरेका छन्। उनको प्रशासनले क्रिप्टोकरेन्सी उद्योगप्रति अपनाएको सकारात्मक दृष्टिकोणलाई निरन्तरता दिँदै यो घोषणा गरिएको हो।

यो घोषणा ट्रम्पले ह्वाइट हाउसमा आयोजना गर्न लागेको ‘क्रिप्टो समिट’को अघिल्लो दिन गरिएको हो, जसमा उद्योगका प्रमुख व्यक्तित्वहरू सहभागी हुनेछन्।

“जसरी हाम्रो राष्ट्रले अन्य महत्वपूर्ण स्रोतहरूको उचित व्यवस्थापन र नियन्त्रण गर्नु आवश्यक छ, त्यसरी नै डिजिटल सम्पत्तिहरूको शक्ति पनि हाम्रो समृद्धिका लागि प्रयोग गर्नु जरुरी छ,” कार्यकारी आदेशमा उल्लेख गरिएको छ।

बिटकॉइन सञ्चिति (रिजर्भ) अमेरिकी वित्त मन्त्रालयले अदालती कारवाहीबाट जफत गरेका वा कार्यकारी निकायहरूलाई नागरिक जरिवानास्वरूप प्राप्त भएका डिजिटल सम्पत्तिबाट निर्माण गरिनेछ।

व्हाइट हाउसका क्रिप्टोकरेन्सी तथा कृत्रिम बुद्धिमत्ता मामिलाका प्रमुख डेभिड स्याक्सले ‘एक्स’ मा पोस्ट गर्दै सरकारसँग करिब २,००,००० बिटकॉइन रहेको तर यसको पूर्ण लेखा परीक्षण कहिल्यै नभएको उल्लेख गरेका छन्। आदेशअनुसार, अब “संघीय सरकारका डिजिटल सम्पत्तिहरूको विस्तृत लेखाजोखा गरिनेछ।”

स्याक्सले यस सञ्चितिलाई “क्रिप्टोकरेन्सीको डिजिटल फोर्ट नक्स” को संज्ञा दिएका छन्। कार्यकारी आदेशमा बिटकॉइनलाई “डिजिटल सुन” को रूपमा परिभाषित गरिएको छ।

डिजिटल सम्पत्ति भण्डार (स्टकपाइल) पनि अदालती कारवाहीबाट जफत गरिएका सम्पत्तिहरूबाट निर्माण गरिनेछ। आदेशअनुसार, वित्त तथा वाणिज्य सचिवहरूलाई “बजेटमा कुनै अतिरिक्त भार नपर्ने” तरिकाले थप बिटकॉइन प्राप्त गर्ने रणनीति बनाउने निर्देशन दिइएको छ।

ट्रम्पले यसअघि जनवरीमा एक कार्यकारी आदेशमार्फत ‘राष्ट्रपतिको डिजिटल सम्पत्ति बजार कार्यसमूह’ गठन गरेका थिए, जसले भण्डार निर्माणबारे अनुसन्धान गर्ने जिम्मेवारी पाएको थियो। आइतबार गरिएको दुई सामाजिक सञ्जाल पोस्टहरूमा उनले पाँच वटा क्रिप्टोकरेन्सीको उल्लेख गरेका थिए, जसका मूल्य तुरुन्तै वृद्धि भएका थिए।

ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा क्रिप्टोकरेन्सी प्रवर्द्धन गर्दै अमेरिका “क्रिप्टोकरेन्सीको विश्व राजधानी र बिटकॉइन सुपरपावर” बन्ने बताएका थिए। उनले उद्योगका लागि अनुकूल नियमहरू ल्याउने वाचा गरेका थिए, जसका कारण क्रिप्टो व्यवसायहरूले उनको अभियानलाई समर्थन गरेका थिए। ट्रम्प स्वयं पनि क्रिप्टो उद्योगमा संलग्न छन्; उनले दुईवटा क्रिप्टोकरेन्सी टोकन ल्याएका छन् र ‘वर्ल्ड लिबर्टी फाइनान्सियल’ नामक क्रिप्टो प्लेटफर्ममा ६०% स्वामित्व राख्छन्।

ट्रम्पका प्रमुख सहयोगी स्याक्सले भने हालै ‘एक्स’ मा पोस्ट गर्दै ट्रम्पले पद सम्हाल्नुअघि नै आफ्नो सम्पूर्ण क्रिप्टोकरेन्सी बिक्री गरिसकेको खुलासा गरेका थिए।

राष्ट्रपति जो बाइडेनको प्रशासनले क्रिप्टोकरेन्सी उद्योगसँग विभिन्न नियमनहरूका विषयमा मतभेद राख्दै केही क्रिप्टोकम्पनीहरूविरुद्ध कारबाही अघि बढाएको थियो। तर, ट्रम्पले क्रिप्टोमैत्री नीति अपनाउँदै बिटकॉइन सञ्चिति अमेरिकी नेतृत्वका लागि महत्वपूर्ण हुने संकेत दिएका छन्।

सेनेटर सिन्थिया लुमिसले अमेरिकी बिटकॉइन सञ्चिति निर्माण गर्न विधेयक दर्ता गरेकी छिन्। क्रिप्टोकरेन्सीको अस्थिरताको चिन्ता व्यक्त गर्दै उनले यो राष्ट्रिय ऋण तिर्न र अमेरिकी डलरलाई बलियो बनाउन सहयोगी हुन सक्ने बताएकी छन्।

“अल्पकालीन उतार-चढाव भए पनि, दीर्घकालीन रूपमा यस्तो बिटकॉइन सञ्चिति महत्त्वपूर्ण तथा स्थिर मूल्य सञ्चयका रूपमा रहनेछ,” उनले ‘द वाल स्ट्रीट जर्नल’ मा प्रकाशित पत्रमा उल्लेख गरेकी छिन्।