२५ चैत्र २०८१, सोमवार
7 April 2025, Monday

साउदी अरेबियामा अर्को हप्ता युक्रेन–अमेरिका वार्ता हुने

साउदी अरेबियामा अर्को हप्ता युक्रेन–अमेरिका वार्ता हुने

न्युयोर्क- साउदी अरेबियाले शुक्रबार युक्रेनी र अमेरिकी प्रतिनिधिमण्डलबिचको पश्चिमी बन्दरगाह सहर जेद्दाहमा अर्को हप्ता बैठक हुने जनाएको छ।

सामाजिक सञ्जाल प्लाटफर्म एक्समा पोस्ट गरिएको एक विज्ञप्तिमा साउदी विदेश मन्त्रालयले आगामी बैठकको मिति र विषयवस्तु निर्दिष्ट नगरी युक्रेनी संकट अन्त्य गर्न तथा दिगो शान्ति प्राप्त गर्न राज्यको निरन्तर प्रयास उल्लेख गरेको छ ।

यसअघि शुक्रबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गर्दै किभमा रहेको युएनएन समाचार एजेन्सीले युक्रेनी र अमेरिकी प्रतिनिधिमण्डलले अर्को हप्ता साउदी अरेबियामा शान्ति वार्ताका लागि भेट्ने अपेक्षा गरेको बताएको थियो ।

‘सोमबार, म युवराज (मोहम्मद बिन सलमान) सँग भेट्न साउदी अरेबियाको यात्रा गर्नेछु । त्यसपछि, मेरो टोली हाम्रा अमेरिकी साझेदारहरूसँग वार्ता गर्न साउदी अरेबियामा रहनेछ,’ जेलेन्स्कीले  बताए।

उनले शान्ति कायम गर्न र द्वन्द्व समाधानका लागि काम गर्न किभ प्रतिबद्ध रहेको बताए । शान्तिका लागि अमेरिका र युरोपेली साझेदारहरूसँग समन्वय गर्न युक्रेनको तत्परता उनले  व्यक्त गरेका छन्।

बिहीबार, मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफले सम्भावित शान्तिसम्झौताबारे छलफल गर्न मार्च ११ मा साउदी अरेबियामा युक्रेनी प्रतिनिधिमण्डललाई भेट्ने पत्रकारहरूलाई बताए।

उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि पहिलो विदेश भ्रमण साउदी अरेबियामा हुने तय भएको छ।