८ बैशाख २०८२, सोमवार
21 April 2025, Monday

हार्वर्डका अनुसन्धानकर्ताहरूले गरे ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

हार्वर्डका अनुसन्धानकर्ताहरूले गरे ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

न्युयोर्क- हार्वर्ड मेडिकल स्कूलका दुई प्राध्यापकले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन्। उनीहरूको दाबीअनुसार प्रशासनले एलजिबिटिक्यु (LGBTQ) समुदाय सम्बन्धी विषय समेटिएको भन्दै उनीहरूको अनुसन्धान सार्वजनिक सरकारी वेबसाइटबाट हटाएको थियो।

गॉर्डन शिफ र सेलेस्ट रोयसले अमेरिकी जिल्ला अदालत, बोस्टनमा बुधबार मुद्दा दायर गरेका हुन्। उनीहरूले स्वास्थ्य सम्बन्धी अनुसन्धानलाई सरकारले राजनीतिक कारणले दबाउने प्रयास गरेको आरोप लगाएका छन्।

शोधकर्ताहरूको अनुसन्धान बिरामीहरूको गलत निदान र आत्महत्या जोखिम जस्ता विषयमा केन्द्रित थियो। तर, अनुसन्धानमा “LGBTQ” र “Transgender” शब्दहरू समेटिएको भन्दै सरकारको Patient Safety Network वेबसाइटबाट ती लेखहरू हटाइएको थियो।

यो मुद्दाले वैज्ञानिक अनुसन्धानमा स्वतन्त्र अभिव्यक्तिको अधिकार हनन भएको भन्दै चिन्ता व्यक्त गरिएको छ। अमेरिकी नागरिक स्वतन्त्रता संघ (ACLU) का अनुसार सरकारको यो कदम संविधानविपरीत छ।

यता, ह्वाइट हाउसले यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन। अनुसन्धानकर्ताहरूले भने सरकारको यस्तो हस्तक्षेप बिरामीको सुरक्षाका लागि हानिकारक हुने बताउँदै आफ्ना अनुसन्धान पुन: सार्वजनिक गरिनुपर्ने माग गरेका छन्।