६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

अमेरिकी दबाबमा भारत: ५ खर्ब डलरको सामान किन्ने बाचा, किसान आन्दोलित

अमेरिकी दबाबमा भारत: ५ खर्ब डलरको सामान किन्ने बाचा, किसान आन्दोलित

न्युयोर्क-  अमेरिकासँगको नयाँ व्यापार सम्झौताले भारतमा राजनीतिक र आर्थिक बहस तताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘भन्सार आतंक’ बाट बच्न भारतले गरेको यो सम्झौतालाई कतिपयले ‘वासिङ्टन सामु झुकेको’ आरोप लगाएका छन्।

सम्झौता अनुसार भारतले आगामी ५ वर्षभित्र अमेरिकाबाट ५ खर्ब डलर (करिब ६७० खर्ब रुपैयाँ) बराबरको सामान किन्ने आशय व्यक्त गरेको छ। तर, यो लक्ष्य पूरा हुनेमा विज्ञहरूले शंका गरेका छन्। किनकि गत वर्ष भारतले अमेरिकाबाट जम्मा ४५ अर्ब डलरको मात्र आयात गरेको थियो। अब एक्कासी यो आँकडा दोब्बर बनाउनु असम्भव जस्तै देखिन्छ। २०० वटा बोइङ जहाज किन्दा पनि यो रकम पुग्दैन।

अमेरिकाले भारतलाई रुसी तेल किन्न रोक्नुपर्ने र बदलामा २५ प्रतिशत अतिरिक्त कर छुट दिने सर्त राखेको चर्चा छ। यद्यपि, संयुक्त वक्तव्यमा यो कुरा उल्लेख छैन। तर, पछिल्लो समय भारतले रुसी तेलको आयात घटाएर भेनेजुएलातर्फ आँखा लगाएको देखिन्छ।

यता, सस्तो अमेरिकी कृषि उपज भित्रिने डरले भारतीय किसानहरू त्रसित बनेका छन्। शक्तिशाली किसान युनियनहरूले यसले कृषिमा आश्रित ७० करोड जनताको पेटमा लात हान्ने चेतावनी दिएका छन्।