अमेरिकी कर नीति सबै देशका लागिः ट्रम्प
- १९ चैत्र २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लागू गर्न लागेको करमा अमेरिकासँग सबैभन्दा बढी व्यापार असन्तुलन भएका देशमात्र नभई ‘सबै देश’ समावेश हुने बताएका छन् ।
राष्ट्रपति ट्रम्पले व्यापार व्यवस्थालाई सम्बोधन गर्न पारस्परिक कर नीति सार्वजनिक गर्ने तयारी गरिरहेको र यो अप्रिल २ देखि लागु गरिने बताए । ‘कर वृद्धि सबै देशहरूबाट शुरू हुनेछ, त्यसैले हेरौं के हुन्छ,’ ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूलाई भने, ‘मैले १० वा १५ वटा देशको बारेमा मात्रै भन्ने सञ्चारमाध्यममा हल्ला सुनेको छु। त्यसो होइन । मूलतः हामीले कुरा गरिरहेका सबै देशसहित सबै देशका बारेमा अमेरिकी अतिरिक्त कर नीति (कर समायोजन) लागू हुनेछ । कटौती होइन ।’
ट्रम्पको आगामी कर नीतिले संयुक्त राज्य अमेरिकासँग निरन्तर व्यापार असन्तुलन भएका ‘डर्टी १५’ भनिने १५ प्रतिशत साझेदारहरूलाई लक्षित गर्ने अपेक्षा गरिएको थियो ।
लक्ष्यलाई फराकिलो बनाए पनि राष्ट्रपति ट्रम्पले आफ्नो कर संयुक्त राज्य अमेरिकाविरुद्ध लगाइने करभन्दा बढी ‘उदार’ हुने दावी गरे । ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा कर लगाइसकेका छन् भने चीनबाट आयात हुने सामानमा थप कर लगाइसकेका छन् ।