२ असार २०८२, सोमवार
16 June 2025, Monday

लङ आईल्यान्डको बिरालाे आश्रयगृहमा लागेको आगलागीले घरधनीको मृत्यु, १०० वटा बिरालो मृत हुने डर

लङ आईल्यान्डको बिरालाे आश्रयगृहमा लागेको आगलागीले घरधनीको मृत्यु, १०० वटा बिरालो मृत हुने डर

न्युयोर्क- लङ आईल्यान्डका अनुसन्धानकर्ताहरू बिहानै लागेको आगलागीको कारण पत्ता लगाउने प्रयास गरिरहेका छन्। सो आगलागीले एक पुरुषको ज्यान लिएको छ भने झण्डै १०० बिरालोहरू पनि मारिएको आशंका गरिएको छ।

मेफोर्डको डाउरल्यान्ड रोडस्थित एक बिरालाे आश्रयगृहमा बिहान ७:१५ बजे आगलागी भएको खबर पाएपछि दमकल टोली त्यहाँ पुगेका थिए। सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्बिरहरूमा घरबाट अग्ला ज्वाला र बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्छ।

केही घण्टाभित्रै आगो नियन्त्रणमा लिइएको थियो। प्रहरीका अनुसार घरको मुख्य तलामा ६५ वर्षीय क्रिस्टोफर आर्सेनल्ट मृत फेला परेका थिए। छिमेकीहरू र नजिकका साथीहरूले आर्सेनल्टले ‘Happy Cat Sanctuary’ नामक आश्रयगृह सञ्चालन गर्दै आएको बताएका छन्।

साक्षीहरूले बिहान सबेरै ठूलो विस्फोटको आवाज सुनेको र त्यसपछि आर्सेनल्ट आगो निभाउन बाहिर निस्किएको बताए। उनी केही बिरालोहरूलाई बचाउन घरभित्र पुन: छिरेको आशंका गरिएको छ।

“उनी unwanted, बेवारिसे, बेघर बिरालोहरूलाई पाल्न कटिबद्ध थिए। जुन बिरालोहरूलाई मार्नुपर्ने भनिन्थ्यो, उनले बचाउने कोसिस गर्थे,” लिसा जेगरले भनिन्। उनका अनुसार आर्सेनल्टले १५ वर्षअघि आश्रयगृह सुरु गरेका थिए, र यो नै उनको जीवन थियो।

जेगरले केही सय बिरालोहरू घर बाहिर निस्कन सफल भएको तर भित्र थुनिएका धेरै बिरालोहरूको अवस्था अज्ञात रहेको बताइन्। “हाम्रो सबैभन्दा ठूलो चिन्ता भनेको बाँचेका बिरालोहरूको भविष्य के हुने भन्ने हो। अहिले ती सबैलाई सुरक्षित राख्न केही दिन लाग्न सक्छ,” उनले भनिन्।

आर्सेनल्ट विगत केही वर्षदेखि ब्रुकहेवन नगरपालिकासँग कानुनी लडाइँमा थिए। उनले स्याहार गर्दै आएका सयौँ बिरालोहरूलाई लिएर स्थानीय नियम उल्लङ्घन गरेको आरोप थियो। यही कारण उनले नयाँ आश्रयगृह निर्माण गरिरहेका थिए, जहाँ उनी केही महिनाभित्रै बसाइँ सर्ने योजना बनाएका थिए। तर, अब त्यस आश्रयगृहको भविष्य अन्योलमा परेको छ।