६ बैशाख २०८२, शनिबार
19 April 2025, Saturday

टकबहादुर रुवालीलाई नासाउ काउन्टीद्वारा सम्मान,अगुवाहरूद्धारा खुसी व्यक्त

टकबहादुर रुवालीलाई नासाउ काउन्टीद्वारा सम्मान,अगुवाहरूद्धारा खुसी व्यक्त

न्युयोर्क – न्युयोर्कको लङ आइल्याण्डस्थित “Theodore Roosevelt Executive and Legislative Building” मा आयोजित वैशाखी तथा विक्रम संवत २०८२ को नयाँ वर्ष विशेष समारोहमा धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष टकबहादुर रुवालीलाई नासाउ काउन्टीद्वारा विशेष प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको छ।

उनले नेपाली समुदायको हितमा पुर्‍याउँदै आएको सामाजिक, सांस्कृतिक र नेतृत्वदायी योगदानको उच्च मूल्याङ्कन गर्दै सो सम्मान प्रदान गरिएको हो।

समारोह नासाउ काउन्टी कार्यकारी प्रमुख Hon. Bruce A. Blakeman र काउन्टी मानव अधिकार आयोगका आयुक्त डा. बबी कुलाठीको व्यवस्थापनमा सम्पन्न भएको थियो। कार्यक्रम भारतीय संघसंस्थाहरू तथा अमेरिकास्थित नेपालीहरूको छाता संस्था CCNC USA को सह–आयोजनामा सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि भारत सरकारका सामाजिक न्याय तथा सशक्तिकरण मन्त्रालयका राज्य मन्त्री श्री रामदास आठवले रहेका थिए। दिपक बन्सल कार्यक्रमसंयोजक रहेका थिए।

विविध जातजाति र समुदायको विविध सांस्कृतिक प्रस्तुति रहेको थियाे।

टक रुवालीलाई प्राप्त सम्मानप्रति CCNC USA का अध्यक्ष बाबुराम शर्मा र महासचिव शंकरराज भण्डारीले संयुक्त वक्तव्य जारी गर्दै यसलाई सम्पूर्ण नेपालीको गौरव र प्रेरणाको विषय भएको उल्लेख गरेका थिए।

“समर्पित सामाजिक अभियन्ता तथा कुशल नेतृत्वकर्ता टक रुवालीलाई प्रदान गरिएको यो सम्मान सम्पूर्ण नेपाली समुदायको पहिचान र योगदानको कदर हो। यसले हामी सबैलाई थप उत्साह, ऊर्जा र प्रेरणा प्रदान गरेको छ।”

कार्यक्रममा नेपाली समुदायका अगुवा तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहमा Town Clerk Ragini Srivastava, Supervisor Jennifer DeSena (Town of North Hempstead), Zahid Syed (Town of Hempstead), Murtajiz Naqvi, Harry Malhotra लगायत Nassau County Office of Minority Affairs र विभिन्न टाउनशिपका पदाधिकारीहरू सहभागी थिए।

समाजका अगुवाहरूले यो सम्मानले नेपाली समुदायलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ सशक्त, एकीकृत र प्रेरित बनाएको विश्वास व्यक्त गरेका थिए।

वेगम पण्डित, न्यूर्योक सम्वाददाता