डलासको हाइ स्कूलमा अन्धाधुन्ध गोला चल्याे, ५ विद्यार्थी घाइते
- ०६ बैशाख २०८२
- १ मिनेटको पढाई
वासिङटन- अमेरिकाको टेक्सास राज्य अन्तर्गत डलासस्थित विल्मर-हचिन्स हाइ स्कूलमा मंगलबार दिउँसो भएको गोलीकाण्डमा ५ जना विद्यार्थी घाइते भएका छन्।
पक्राउ परेका १७ वर्षीय किशोरले विद्यालयमा चुपचाप प्रवेश गरी अन्धाधुन्ध गोली चलाएको डलास प्रहरीले जनाएको छ। प्रहरीले जारी गरेको पक्राउ पूर्जीका अनुसार ती किशोर विद्यालयको एक असुरक्षित ढोका हुँदै भित्र पसेका थिए, जसले धातु चेक प्रणाली (मेटल डिटेक्टर) समेत छलिएको थियो।
घटनामा १५ देखि १८ वर्ष उमेरका पाँच जना विद्यार्थी घाइते भएका छन्। तीमध्ये चार जना गोली लागेर र एक जना गोलीबाट भाग्ने क्रममा घाइते भएका हुन्। उनीहरूलाई नजिकैको अस्पताल लगिएको छ र सबैको अवस्था स्थिर रहेको जनाइएको छ।
विद्यालयको सिसिटिभी फुटेज अनुसार आक्रमणकारीले एक विद्यार्थीमाथि निकै नजिकबाट गोली चलाएको देखिन्छ। यो फुटेज अहिले सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ।
प्रहरीले भनीअनुसार आक्रमणकारीलाई विद्यालयभित्र ल्याउन अर्काे एक विद्यार्थीले ढोका खोलेको देखिन्छ, जसले विद्यालयको नियम उल्लंघन गरेकोमा अनुशासनात्मक कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।
गोलीकाण्डपछि विद्यालयलाई बन्द गरिएको छ र यस हप्ता कक्षा सञ्चालन नहुने बताइएको छ। आगामी दिनहरूमा विद्यालयका १३ प्रवेशद्वारमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिने घोषणा गरिएको छ।
हाल पक्राउमा रहेका किशोरलाई प्रथम श्रेणीको आक्रमणको आरोप लगाइएको छ र ६ लाख अमेरिकी डलर धरौटी तोकिएको छ। प्रहरीले उनले हतियार कहाँबाट प्राप्त गरे भन्ने अनुसन्धान गरिरहेको छ र यदि अभिभावकको संलग्नता पाइएमा उनीहरूविरुद्ध पनि मुद्दा चलाइने बताइएको छ।
टेक्सास राज्यका गभर्नर ग्रेग एबटले घटनाप्रति दु:ख व्यक्त गर्दै पीडित परिवारलाई राज्य सरकारको तर्फबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाएका छन्।