नासाका सबैभन्दा ज्येष्ठ अन्तरिक्षयात्री ७०औं जन्मदिन मनाउँदै पृथ्वीमा अवतरण
- ०७ बैशाख २०८२
- २ मिनेटको पढाई
न्युयोर्क- केक, उपहार र परिवारसँग सामान्य उत्सव धेरै वृद्ध नागरिकले आफ्नो ७०औं जन्मदिन मनाउने तरिका हुनसक्छ । तर नासाका सबैभन्दा ज्येष्ठ अन्तरिक्षयात्री डन पेटिटले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा सात महिनाको मिसन पूरा गर्न एक अन्तरिक्षयानमा पृथ्वीतर्फ हुइँकिँदा ७० वर्ष पूरा गरे।
अमेरिकी र दुई रुसी अन्तरिक्षयात्री बोकेको सोयुज क्याप्सुल आइतवार पेटिटको महत्त्वपूर्ण जन्मदिनमा काजकिस्तानमा अवतरण गर्यो । अन्तरिक्षमा २ सय २० दिन बिताउँदै पेटिट र उनका चालक दलका सदस्यहरू अलेक्सेई ओभचिनिन र इभान भ्यागनरले पृथ्वीको ३ हजार ५२० पटक परिक्रमा गरे र उनीहरूले मिसनको अवधिमा ९ करोड ३३ माइलको यात्रा पूरा गरे।
यो पेटिटको चौथो अन्तरिक्ष उडान थियो । उहाँले आफ्नो २९ वर्षको करियरमा कक्षमा १८ महिनाभन्दा बढी समय बिताएका छन।
तीनै जना अन्तरिक्ष स्टेशनबाट छुटेको केही घण्टापछि स्थानीय समयानुसार आइतवार बिहान ६ बजेर २० मिनेटमा काजकिस्तानको जेज्काजगानको दक्षिणपूर्व भागको दुर्गम क्षेत्रमा अवतरण गरे।
अवतरणको नासाका तस्वीरहरूले सूर्योदयलाई पृष्ठभूमिका रूपमा राखेर सानो क्याप्सुल प्यारासुटबाट पृथ्वीमा झर्दै गरेको देखायो ।
उद्धारकर्ताहरूले उनीहरूलाई अन्तरिक्षयानबाट फुलाउन सकिने मेडिकल टेन्टमा लगेपछि अन्तरिक्षयात्रीहरूले थम्स–अप इशाराहरू दिए।
पेटिटलाई जहाजबाट बाहिर निकालिँदा केही थकित देखिए पनि नासाले एक विज्ञप्तिमा उहाँ ‘राम्रो अवस्थामा हुनुहुन्छ र पृथ्वीमा फर्केपछि उहाँका लागि अपेक्षा गरिएको दायरामा हुनुहुन्छ’ भनेको छ ।
त्यसपछि उनी टेक्सासको एजेन्सीको जोन्सन स्पेस सेन्टरका लागि नासाको विमानमा चढ्नुअघि कजाख शहर कारागन्डाका लागि उडान गर्न तयार थिए ।
अन्तरिक्षयात्रीहरूले आफ्नो समय आईएसएसमा पानी स्वच्छता प्रविधि, विभिन्न अवस्थाहरूमा बोटबिरुवाको वृद्धि र माइक्रोग्राभिटीमा आगोको व्यवहारजस्ता क्षेत्रहरूको अनुसन्धानमा बिताउनुभएको नासाले बताएको छ ।
तीनै जनाको सात महिनाको यात्रा नासाका अन्तरिक्षयात्रीहरू बुच विलमोर र सुनी विलियम्सले अनपेक्षित रूपमा कक्षीय प्रयोगशालामा बिताएको नौ महिनाभन्दा केही कम थियो । विलमोर र विलियम्सले परीक्षण गरिरहेको अन्तरिक्षयानमा प्राविधिक समस्याहरू आए र उनीहरूलाई पृथ्वीमा फर्काउन अयोग्य ठहर गरिएको थियो ।