न्युयोर्क-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो ठूला विदेश भ्रमण अन्तर्गत साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्सको चारदिने यात्रा थालेका छन्। यस भ्रमणको मुख्य उद्देश्य रणनीतिक सहकार्यभन्दा पनि अरब मुलुकहरूसँग अर्बौं डलरका व्यापारिक सम्झौता गर्नु रहेको छ।
पूर्व राष्ट्रपति जिमी कार्टरदेखि बाराक ओबामा सम्मका नेताहरूले मध्यपूर्वमा लोकतान्त्रिक सुधार, आतंकवादविरुद्धको साझा रणनीति वा इस्रायल–प्यालेस्टाइन शान्ति वार्ताजस्ता राजनीतिक एजेन्डा लिएर खाडी यात्रा गर्ने चलन रहँदै आएको थियो। तर ट्रम्पले भने यो यात्रा व्यापारिक सम्झौतामै केन्द्रित बनाउने स्पष्ट संकेत दिएका छन्।
ट्रम्प प्रशासनका अनुसार उनले खाडी मुलुकहरूसँग विमान खरिद, आणविक ऊर्जा संयन्त्र, कृत्रिम बुद्धिमत्ता क्षेत्रमा लगानी, हतियार आपूर्तिजस्ता क्षेत्रहरूमा कूल १ ट्रिलियन डलरभन्दा बढीको सम्झौता गर्ने लक्ष्य लिएका छन्। ट्रम्पले आफूलाई ‘सर्वोत्कृष्ट सौदाबाज’का रूपमा चिनाउँदै आएका छन्, र यो भ्रमणलाई उनले आफ्नो व्यापारिक सफलताको प्रदर्शनका रूपमा प्रयोग गर्ने देखिएको छ।
यसपटकको भ्रमणमा इस्रायल समावेश छैन। खाडी मुलुकहरू विशेषगरी साउदी अरबका युवराज मोहम्मद बिन सलमानले अहिलेका लागि इस्रायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग खुला सहकार्य गर्न अनिच्छा देखाइरहेका छन्, खासगरी गाजामा जारी युद्धको पृष्ठभूमिमा। ट्रम्प आफै पनि नेतन्याहूसँग दूरी कायम राख्न इच्छुक देखिन्छन्।
यस यात्राको सन्दर्भमा ट्रम्प प्रशासन कतार सरकारबाट उपहारस्वरूप प्राप्त हुन लागेको ४ सय मिलियन अमेरिकी डलर मूल्य बराबरको लक्जरी बोइङ ७४७ विमानलाई लिएर पनि विवाद उत्पन्न भएको छ। कतारी शाही परिवारले उक्त विमान ट्रम्पको राष्ट्रपति पुस्तकालयलाई दिने तयारी गरेको बताइएको छ। यस्तो उपहारले अमेरिकी राजनीति तथा नीतिगत स्वतन्त्रतामा गम्भीर प्रश्न उठाएको विश्लेषकहरूले बताएका छन्।
ट्रम्प परिवारका लागि खाडी क्षेत्र हालका वर्षहरूमा सबैभन्दा आकर्षक आर्थिक गन्तव्य बनेको छ। उनका ज्वाँइ जारेड कुश्नरले स्थापना गरेको लगानी फण्डमा साउदी अरबको सार्वभौम सम्पत्ति कोषले २ अर्ब डलर लगानी गरिसकेको छ। त्यस्तै, ट्रम्प परिवारले जेद्दा, दुबई र ओमानमा समेत रियल स्टेट परियोजनाहरू अघि बढाइरहेका छन्।
यात्राको क्रममा साउदी अरेबियाले ट्रम्पको सम्मानमा भव्य लगानी सम्मेलन आयोजना गर्दैछ। सम्मेलनमा अमेरिकी टेक कम्पनी, बैंकिङ तथा रक्षा उद्योगका ठूला अधिकारीहरूको समेत सहभागिता रहनेछ। युवराज सलमानले अमेरिका भित्र आगामी चार वर्षमा ६ सय अर्ब डलर लगानी गर्ने घोषणा गरेका छन्, यद्यपि अर्थशास्त्रीहरूले यसलाई व्यवहारिक चुनौती भएको बताउँछन्।
राजनीतिक विश्लेषकहरूले यो भ्रमणलाई रणनीतिक हैन, व्यापारिक हितलाई प्राथमिकता दिइएको यात्रा भनेर मूल्याङ्कन गरिरहेका छन्। ट्रम्पले मानवीय अधिकार, स्वतन्त्रता वा लोकतान्त्रिक अभ्यास जस्ता विषयहरूलाई नजरअन्दाज गर्दै आर्थिक लाभमुखी सम्बन्धमा जोड दिएको देखिन्छ।