सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा
०६ जेष्ठ २०८२
१ मिनेटको पढाई
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने संसारका आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन ‘एभरेष्ट समिटर समिट’ नेपालमा हुने भएको छ ।
विश्वभरका पर्वतारोहीलाई एकै थलोमा जम्मा गरेर उनीहरूको अनुभव आदानप्रदान गर्ने, साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट एलाइन्स नेपालले यही जेठ १३ मा सम्मेलन आयोजना गर्न लागेको हो ।
नेपालले पहिलोपटक ‘एभरेष्ट समिटर समिट’ काठमाडौंमा आयोजना गर्न लागेको एभरेष्ट एलाइन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले जानकारी दिए । उनका अनुसार सम्मेलनमा भाग लिन हालसम्म १६ देशका एक सय ७७ आरोहीले नाम दर्ता गराइसकेका छन् । सम्मेलनमा सगरमाथाको सफल आरोहण गरेका विश्वभरका पाँच सय आरोहीको सहभागिता रहने आयोजकले जनाएको छ ।
सम्मेलनमा भारत र चीनसँगै संयुक्त राज्य अमेरिका, बेलायत, इटली, स्वीट्जरल्याण्ड, नर्वे, इरान, सिङ्गापुर, अष्ट्रेलिया, लेवनान, मोरक्को, युएईलगायत मुलुकका आरोहीहरूले सहभागिता जनाउनेछन् ।
‘सम्मेलनमा ७१ वर्षअघिदेखिका सगरमाथा आरोहीको सहभागिता रहनेछ । कीर्तिमानी आरोहीको अनुभव आदनप्रदान हुनेछ । फरक क्षमता भएका कीर्तिमानी आरोहीको प्रस्तुति रहनेछ’, अध्यक्ष नेपालले भने । उनका अनुसार सगरमाथा आरोहणको सात दशक लामो इतिहासमा पहिलोपटक हुन लागेको सम्मेलनमा पहिलोपटक सर एडमन्ड हिलारीसँग सगरमाथा आरोहण गरेका कान्छा शेर्पालाई सम्मान गरिनेछ ।