इरानमा रहेका नेपालीको उद्धार गरिँदै
- ०७ असार २०८२
- १ मिनेटको पढाई
काठमाडौं- इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ । भारत सरकारको सहयोगमा उनीहरूको उद्धार गरिने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताइन् ।
इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति आफूले भारत सरकारसँग आग्रह गरेको जानकारी दिँदै उनले त्यसप्रति भारत सकारात्मक रहेको बताइन् ।
परराष्ट्रमन्त्री डा. राणाले भनिन्, ‘इरानमा केही नेपाली हुनुहुन्छ । आफ्ना नागरिकको उद्धार गर्दा नेपालीको पनि उद्धारका निम्ति मैले भारत सरकारसँग आग्रह गरेकी छु । हामी भारतबाट सकारात्मक जवाफ आउनेमा विश्वस्त छौँ ।’
भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्मा पनि नेपालीको उद्धारका निम्ति भारत सरकारसँग निरन्तर सम्पर्क एवं समन्वयमा छन् ।
तेहरानस्थित भारतको दूतावासले आफ्ना नागरिकको उद्धार गर्दैछ । यस क्रममा उक्त दूतावासले नेपालीलाई पनि सम्पर्कमा आउन सूचना जारी गरेको छ ।