‘ओड टु यल’ कविता संग्रह न्यूयोर्कमा विमोचित
- ०९ असार २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- नेपाली मूलका कवि राजन महर्जनद्वारा अङ्ग्रेजी भाषामा लेखिएको पहिलो कविता संग्रह ‘ओड टु यल’ न्यूयोर्कको क्विन्समा एक विशेष साहित्यिक समारोहबीच विमोचित गरिएको हो। भारतको निराला पब्लिकेशन्सले प्रकाशन गरेको यस संग्रहमा २३ वटा कविता समावेश छन्, जसमा पाटन (यल) को सांस्कृतिक सम्पदा, परम्परा र भावनात्मक सम्बन्धको चित्रण गरिएको छ। साथै, प्रवासमा बसोबास गर्दा उत्पन्न हुने पहिचानको द्वन्द्व र सम्झनाहरूलाई पनि कवितामार्फत् उजागर गरिएको छ।
पारिवारिक वातावरणमा सम्पन्न विमोचन कार्यक्रममा कविका पत्नी अस्मिता, छोरी अर्लानी, सासु–ससुरा तथा हिमालयन कवि युयुत्सु शर्माले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे। कवि शर्माले राजन महर्जनको काव्यशैलीको प्रशंसा गर्दै संग्रहलाई प्रवासी नेपाली साहित्यको महत्त्वपूर्ण योगदानका रूपमा वर्णन गरे।
कार्यक्रममा अनेसासका प्रतिनिधि गीता खत्री, ज्योति पौडेल, लक्ष्मी श्रेष्ठ, राजेन्द्र श्रेष्ठ लगायतका साहित्यप्रेमीहरूको उपस्थिति थियो। आनन्द श्रेष्ठ, तुलसी चित्रकार, अमृत मान जः लगायतले पनि पुस्तकबारे धारणा राखे। कार्यक्रम निराला पब्लिकेशन्सको संयोजनमा स्थानीय नेपाली संस्थाहरूको सहकार्य र Foodmandu को सहयोगमा सम्पन्न भएको थियो।
‘ओड टु यल’ हाल Amazon, Flipkart, र Daraz मा उपलब्ध छ भने चाँडै नेपालका प्रमुख पुस्तक पसलहरूमा पनि बिक्रीमा आउनेछ। यो विमोचन कार्यक्रमले प्रवासी नेपाली समुदायमा साहित्यिक चेतनाको विकास र जन्मभूमिप्रतिको सम्बन्ध झनै बलियो बनाएको छ।