दक्षिण सुडान — गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण सुडानको तेस्रो अधिवेशन भर्चुअल माध्यमबाट सम्पन्न भएको छ। अधिवेशनले रामप्रसाद पाध्याको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष रोजिना प्रधान राई तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउतको विशेष उपस्थितिमा सम्पन्न अधिवेशनले कार्यसमितिका अन्य पदाधिकारीसमेत चयन गरेको छ।
ईश्वरीप्रसाद सिग्देल र रुक्माङ्गद उपाध्याय उपाध्यक्षमा चयन भएका छन्। महासचिवमा बलाराम दाहाल, सचिवमा रमेशबहादुर खत्री र कोषाध्यक्षमा आनन्दबाबु श्रेष्ठ चयन भएका छन्।
प्रवक्तामा राजदेव गुरुङ चयन भएका छन् भने युवा संयोजकको जिम्मेवारी हिरा सिंह पौडेल क्षेत्रीले पाएका छन्। यस्तै, आईसिसी सदस्यका लागि बाबुराम गौतमको नाम प्रस्ताव गरिएको छ।
नवगठित समितिमा सदस्यहरूका रूपमा प्रकाशराज भण्डारी, रामेन्द्रप्रसाद यादव, तिलक रोका, विक्रम रबी अर्याल, बेदबहादुर चौधरी, लक्ष्मीप्रसाद ओखाबु, मनबहादुर सार्की र कृष्णबहादुर नेपाली रहेका छन्।
अधिवेशनपश्चात बसेको कार्यसमिति बैठकले दक्षिण सुडानमा ‘अक्षयकोष’ स्थापना गर्ने निर्णय गरेको छ। उक्त कोषले आपतकालीन अवस्था र आवश्यकतामा परेका नेपालीहरूको सहयोगमा विशेष भूमिका खेल्ने अध्यक्ष पाध्याले जानकारी दिए।
कार्यसमितिले दक्षिण सुडानमा कार्यरत नेपालीहरूका हक–हित संरक्षण, श्रम सम्झौता (एमओयू) को पहल, उद्धार तथा सहयोगमा संघलाई अग्रसर बनाउने नीति लिएको छ।
त्यस्तै, नेपाली भाषा, धर्म, संस्कृति र चाडपर्वको संरक्षण तथा प्रवर्द्धनका लागि नियमित कार्यक्रम तथा सांस्कृतिक उत्सव आयोजना गर्ने योजना बनाइएको छ।
अध्यक्ष पाध्याले दक्षिण सुडानभरि रहेका सम्पूर्ण नेपालीहरूलाई एनआरएनएमा आवद्ध गराई एकता, सहकार्य र सेवामूलक भावना विस्तार गर्ने प्रतिवद्धता जनाए।
“गैर आवासीय नेपाली संघ केवल संस्था होइन, यो नेपालीपनको अनुभूति र विश्वभर छरिएर रहेका नेपालीहरूको एकताको प्रतीक हो,” अध्यक्ष पाध्याले भने, “हामी दक्षिण सुडानका नेपालीहरूलाई सहयोग, सुरक्षा र सशक्तिकरणमा समर्पित रहनेछौं।”
उनले अफ्रिकाभर छरिएर रहेका नेपालीहरूलाई एकीकृत गर्नका लागि डिजिटल प्लेटफर्म निर्माण गर्ने योजना पनि सार्वजनिक गरेका छन्।