टेस्ला संकटमा, एलन मस्कको राजनीति र रोबोट्याक्सी सपना कम्पनीको भविष्य माथि प्रश्नचिन्ह
- ०८ साउन २०८२
- १ मिनेटको पढाई
वाशिङ्टन — एलन मस्कको नेतृत्वमा रहेको टेस्ला कम्पनी लगातार दोस्रो त्रैमासिकमा घाटामा गएको छ, कम्पनीको नयाँ आय विवरणले देखाएको छ। विद्युतीय गाडीको बजारमा अग्रणी रहेको टेस्ला अहिले राजस्व, नाफा र गाडी बिक्री तीनै मोर्चामा संघर्ष गरिरहेको छ।
अप्रिलदेखि जुन महिनासम्म टेस्लाको राजस्व २२.५ अर्ब डलरसम्म सीमित रह्यो, जुन अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले घटेको हो। त्यस्तै, नाफा पनि २३ प्रतिशतले घटेर प्रति सेयर ४० सेन्टमा झरेको छ।
कम्पनीमा आएको गिरावटसँगै एलन मस्कको विवादास्पद राजनीतिक गतिविधिहरू पनि आलोचनाको केन्द्रमा परेका छन्। ट्रम्प प्रशासनसँगको सहकार्य, कडा दक्षिणपन्थी धारणा र सामाजिक सञ्जालमा गरेका अभिव्यक्तिहरूका कारण टेस्लाको ब्रान्ड छविमा गम्भीर असर परेको बताइएको छ।
मस्कले कम्पनीको भविष्य अब विद्युतीय सवारीसाधनभन्दा पर—एआई, रोबोटिक्स, र स्वचालित ट्याक्सी सेवामा देखिरहेका छन्। उनले अमेरिकाको आधा भागमा वर्षअन्त्यसम्म रोबोट्याक्सी सेवा विस्तार गर्ने योजना सार्वजनिक गरे पनि हाल सेवा अष्टिन, टेक्सासमा सीमित छ र मानव पर्यवेक्षणमै आधारित छ।
यसबीच, टेस्ला “फुल सेल्फ ड्राइभिङ” नामक प्रणालीको क्षमताबारे झुटा दाबी गरेको अभियोगमा दुईवटा कानुनी चुनौतीको सामना गरिरहेको छ। साथै, कम्पनीको उत्पाद प्रविधिमा विश्वसनीयता संकट गहिरिँदै गएको छ।
टेस्ला टेकेको यात्रामा ‘भविष्य’ को कथा लेख्न खोजिरहेको बेला एलन मस्कका महत्वाकांक्षी योजनाहरू र उनीप्रति जनमतको ध्रुवीकरणले कम्पनीलाई राजनीतिक, सामाजिक र वित्तीय चुनौतीको त्रिवेणीमा पुर्याएको छ।