२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

एआईको विकास र सुरक्षालाई सन्तुलित बनाउन विश्वव्यापी सहमति कायम गर्न चीनको आग्रह

एआईको विकास र सुरक्षालाई सन्तुलित बनाउन विश्वव्यापी सहमति कायम गर्न चीनको आग्रह

साङ्घाई- चीनका प्रधानमन्त्री ली कियाङले बेइजिङ र वासिङ्टनबीचको प्रविधिको होडबाजी कम हुने कुनै सङ्केत नदेखिए पनि विश्वव्यापी सहमति तत्काल आवश्यक रहेको भन्दै बोद्धिक कृतिमता (एआई)को विकासलाई सुरक्षा जोखिमविरुद्ध सन्तुलित गर्नुपर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निजी क्षेत्रको एआई विकासमा बाधा पु¥याउन सक्ने ‘लालफीताशाही हटाउने र कडा नियमन हटाउने’ वाचा गर्दै तीव्र गतिमा अघि बढिरहेको क्षेत्रमा अमेरिकी प्रभुत्वलाई मजबुत बनाउने उद्देश्यले आक्रामक लो–रेगुलेशन रणनीति सार्वजनिक गरेको केही दिनपछि कियाङको यो टिप्पणी आएको हो ।

शनिबार साङ्घाईमा आयोजित विश्व एआई सम्मेलन (डब्ल्युएआइसी) को उद्घाटन गर्दै लीले अन्तर्राष्ट्रिय एआई सहयोगका लागि चिनियाँ नेतृत्वको निकायको स्थापनाको घोषणा गर्दै शासन र खुला स्रोत विकासको आवश्यकतामा जोड दिए ।

“एआईले ल्याएको जोखिम र चुनौतीले विश्वको व्यापक ध्यान खिचेको छ। विकास र सुरक्षाबीच कसरी सन्तुलन कायम गर्ने भन्ने विषयमा तत्काल सम्पूर्ण समाजको थप सहमति आवश्यक छ,” उनले भने ।

उनले नयाँ घोषित सङ्गठनको बारेमा थप विवरण दिएनन् । यद्यपि पछि चिनियाँ सरकारी मिडियाले यसको मुख्यालय साङ्घाईमा राख्ने ‘प्रारम्भिक विचार’ रहेको बताएका छन् ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सङ्गठनले सङ्गठनको सेटअप वा संयन्त्रको बारेमा विस्तृत जानकारी नदिई ‘व्यापक परामर्श, संयुक्त योगदान र साझा लाभसहितको विश्वव्यापी शासनलाई बढावा दिने जनाएको छ ।

लगभग सबै उद्योगहरूमा एआई एकीकृत भइरहेको समयमा यसको प्रयोगले प्रमुख प्रश्नहरू उठाएको छ । गलत सूचनाको प्रसार, रोजगारीमा यसको प्रभाव र प्राविधिक नियन्त्रणको सम्भावित हानिको बारेमा प्रश्नहरू केन्द्रित भएका छन् ।