गैर आवासीय नेपाली संघ कम्बोडियाको छैठौं अधिवेशन सम्पन्न
- ११ साउन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- गैर आवासीय नेपाली संघ (NRNA) साउथ सुडानका अध्यक्ष राम प्रसाद पाध्याको प्रमुख आतिथ्यतामा गैर आवासीय नेपाली संघ कम्बोडियाको छैठौं अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले २०२५–२०२७ कार्यकालका लागि शिवराज पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
निवर्तमान अध्यक्ष लालसिंह खड्काले नव-निर्वाचित अध्यक्ष पराजुलीलाई पद हस्तान्तरण गरे।
नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा प्रदीप अधिकारी, महिला उपाध्यक्षमा श्रीमती उमा बुढाथोकी चयन भएका छन्। अन्य उपाध्यक्षहरूमा राजन कुँवर काजी, रमजी क्षेत्री, र सोनु तामाङ रहेका छन्। महासचिवमा दीपेन्द्र केसी, सचिवमा रुद्र तामाङ र प्रवक्तामा डा. मो. जमिरुल हक चयन भएका छन्।
प्रमुख अतिथि पाध्याले सम्बोधन गर्दै भने,”उपस्थित हरेक अनुहारले मलाई ती दिनहरूको सम्झना गराउँछ, जब हामीले विश्वभर छरिएर रहेका नेपालीहरूलाई एउटै सूत्रमा बाँध्ने सपना देखेका थियौं—नेपाल आमाको सेवाका लागि। आज एशिया नै विश्वको द्रुत विकासको नमुना बनेको छ, कम्बोडियाको भूमिमा हामी नेपालीहरूले समाधानको संगम सिर्जना गर्नुपर्छ—नकारात्मकता होइन, सम्भावनामा केन्द्रित सोचसहित। हिम्मतका साथ अघि बढ्न आवश्यक छ।”
उनले थप रूपमा ‘डिजिटल अभिमुखीकरण र समाधान संयन्त्र’, श्रमिक सुरक्षाको अभियान, र नेपाली संस्कृतिको संरक्षण तथा प्रवर्द्धनजस्ता विषयहरूमा ध्यान केन्द्रित गर्दै, “एशियाली भूगोलमा रहेका हामी नेपालीहरू एउटै भावना र उद्देश्यमा बाँधिनुपर्छ,” भन्ने कुरामा जोड दिए।