२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

यस्तो छ प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तानमा आजका कार्यक्रम

यस्तो छ प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तानमा आजका कार्यक्रम

तुर्कमेनिस्तान- प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन तुर्कमेनिस्तानको अवाजा सहरमा छन्। आज प्रधानमन्त्री ओलीले विभिन्न कार्यक्रममा सहभागिता जनाउने भएका छन्।

प्रधानमन्त्री ओलीले ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्टित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयक छलफल सत्रलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ।

उनले भूपरिवेष्टित विकासशील देशहरूका लागि व्यापार तथा वाणिज्यको सहजता र क्षेत्रीय सहकार्य विषयक छलफल सत्रको सहअध्यक्षता गर्नेछन्।

प्रधानमन्त्री ओलीले आजै काजकस्तान, अजरबैजान र ताजकिस्तानका राष्ट्रपतिहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

यो सम्मेलन तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा आयोजना गरिएको हो।

अफ्रिका, एसिया, युरोप र दक्षिण अमेरिकाका ३२ भूपरिवेष्टित विकासशील देशहरूको सहभागिता रहेको यो सम्मेलनमा विश्व बजारबाट यी देशहरूको भौगोलिक अलगाव, दुर्गमता र अन्तर्राष्ट्रिय व्यापारमा आउने चुनौतीहरूबारे छलफल भइरहेको छ। यी देशहरूले दिगो विकास लक्ष्यहरू हासिल गर्न सामना गरिरहेका चुनौतीहरूमाथि सम्मेलन केन्द्रित छ।