वैज्ञानिकहरूले ३० करोड सूर्यको आकार बराबरको प्राचीन ब्ल्याक होल पत्ता लगाए
- २५ साउन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- खगोलविदहरूले ब्रह्माण्डको इतिहासमा अहिलेसम्मको सबैभन्दा पुरानो र टाढाको ब्ल्याक होल पत्ता लगाएका छन्, जुन करिब १३.३ अर्ब वर्ष पहिले, अर्थात् बिग बैंकपछि ५० करोड वर्षमै बनेको मानिन्छ।
यो विशाल ब्ल्याक होल CAPERS-LRD-z9 नामक आकाशगंगाको केन्द्रमा रहेको छ र यसको आकार सूर्यको करिब ३० करोड गुणा ठूलो छ। यसको द्रव्यमान आकाशगंगाका आधा ताराहरू बराबर छ, जुन हाम्रो आकाशगंगा मिल्की वेको सुपरम्यासिभ ब्ल्याक होलभन्दा १० गुणा भारी हो।
नासाको जेम्स वेब स्पेस टेलिस्कोप मार्फत गरिएको अवलोकन र *स्पेक्ट्रोस्कोपी* प्रविधि प्रयोग गरी यसलाई पुष्टि गरिएको हो। स्पेक्ट्रोस्कोपीले ताराहरू, आकाशगंगा र ब्ल्याक होल वरिपरिका तीव्र गतिमा (१,०००–३,००० किमी/सेकेन्ड) चल्ने ग्याँसहरू पत्ता लगाउन मद्दत गर्छ।
यो ब्ल्याक होल रहेको आकाशगंगा “लिटिल रेड डट” नामक दुर्लभ, सानो तर अत्यन्त चम्किलो र रातो प्रकाश उत्सर्जन गर्ने आकाशगंगाको श्रेणीमा पर्छ। यी आकाशगंगाहरू प्रारम्भिक ब्रह्माण्डमा बढी सामान्य भएको अनुमान छ।
शोधकर्ताहरूले यस्ता अरू पुराना र विशाल ब्ल्याक होलहरू पनि खोज्ने योजना बनाइरहेका छन्, जसले प्रारम्भिक ब्रह्माण्डमा ब्ल्याक होल र आकाशगंगाको विकासबारे महत्वपूर्ण जानकारी दिनेछ।