एफएएद्वारा न्युर्क विमानस्थलको उडान कटौती २०२६ अक्टोबरसम्म लम्ब्याउने प्रस्ताव
- २५ साउन २०८२
- १ मिनेटको पढाई
न्युजर्सी – अमेरिकी संघीय उड्डयन प्रशासन (FAA) ले न्युर्क लिबर्टी इन्टरनेशनल एयरपोर्टमा उडान कटौती गर्ने निर्णयलाई सन् २०२६ अक्टोबरसम्म लम्ब्याउने प्रस्ताव गरेको छ। यसको कारण एयर ट्राफिक कन्ट्रोलरको कमी र हवाई भीडभाड समस्यालाई देखाइएको छ।
गत मे महिनामा युनाइटेड एयरलाइन्स हबमा भएका ठूला व्यवधान र सयौँ उडान अवरुद्ध भएपछि एफएएले २०२५ अन्त्यसम्मका लागि उडान कटौती आदेश जारी गरेको थियो।
एफएएका अनुसार यो कदमले सुरक्षा कायम राख्दै, कर्मचारी र उपकरण अभावका कारण हुने ढिलाइ कम गर्न र न्युर्कमा आवागमन सहज बनाउन मद्दत गर्नेछ।
अमेरिकाभर एयर ट्राफिक कन्ट्रोलरको संख्या लक्षित स्तरभन्दा करिब ३,५०० कम छ। यस अभावका कारण धेरै स्थानमा अनिवार्य ओभरटाइम र हप्तामा छ दिन काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ, जसले हालैका वर्षहरूमा सुरक्षासम्बन्धी चिन्ता बढाएको छ।