वासिङ्टन- सिटबेल्टको चिह्न बल्छ, ट्रेहरू हल्लिन्छन्, गिलासमा भएको पेय छचल्किन्छ । धेरै यात्रुका लागि हावाको अशान्ति असहज अनुभव हुन्छ । तर वैज्ञानिक प्रमाणहरूले देखाएअनुसार जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले यो समस्या अझ गम्भीर बनाउँदै लगेको छ । सन् २०२५ को अर्को तातो गर्मीमा यसबारे जान्नुपर्ने मुख्य कुराहरू यस्ता छन् ।
अशान्ति किन महत्त्वपूर्ण छ
उडानमा असुविधा बाहेक, अशान्ति हवाई दुर्घटनाको प्रमुख कारण पनि हो । आधिकारिक तथ्याङ्कअनुसार सन् २००९ देखि सन् २०२४ बीच अमेरिकी व्यावसायिक उडानमा दुई सय सात जना घाइते भएका थिए । यद्यपि केही चर्चित घटनाले यस विषयलाई बढी चर्चामा ल्याएका छन् । उदाहरणका लागि, गत वर्ष एयर युरोपाको उडानमा ४० जना घाइते भए भने सिङ्गापुर एयरलाइन्सको उडानमा एक वृद्ध यात्रुको मृत्यु भयो र धेरै घाइते भए ।
सेन्ट थोमस विश्वविद्यालयका मेकानिकल इन्जिनियरिङका प्राध्यापक जोन अब्राहमले भन्नुभयो, “सामान्यतया संरचनात्मक क्षति हुँदैन । बेल्ट बाँधेका यात्रु वा केबिन क्रूमै चोटपटक लाग्छ ।”उहाँका अनुसार, आधुनिक विमान अशान्ति सहन सक्छन्, त्यसैले प्रमुख जोखिम विमानको क्षति नभई यात्रुहरूको चोटपटक हो ।
“तर अझै पनि, ‘गम्भीर’ अशान्ति भोगेपछि विमान जाँच गर्नैपर्छ । यसमा गुरुत्वाकर्षण बलको करिब १.५ गुणा असर पर्छ, जुन अमेरिकामा वर्षमा करिब पाँच हजार पटक हुन्छ”, नेसनल सेन्टर फर एटमोस्फेरिक रिसर्चका वरिष्ठ वैज्ञानिक रोबर्ट शर्मनले भन्नुभयो । अब्राहमका अनुसार पाइलटहरूले उचाइ परिवर्तन गर्न, मार्ग बदल्न वा गति घटाउनुपर्ने भएकाले अशान्तिले इन्धन खपत पनि बढाउँछ ।
जलवायु परिवर्तनले यसलाई कसरी बिगार्दैछ
बेलायतको युनिभर्सिटी अफ रिडिङका वायुमण्डलीय वैज्ञानिक मोहम्मद फौदादका अनुसार अशान्तिका तीन प्रमुख प्रकार छन्ः कन्भेक्टिभ, माउन्टेन वेभ र क्लियर–एयर टर्बुलेन्स (क्याट) ।कन्भेक्टिभ टर्बुलेन्स बादल वा आँधीबेहरीसँग सम्बन्धित छ । जुन दृश्यात्मक रूपमा वा राडारले पत्ता लगाउन सक्छ । पर्वत शृङ्खलामा हुने अशान्ति भने माउन्टेन वेभसँग सम्बन्धित हुन्छ । तर क्याट अदृश्य हुन्छ, त्यसैले सबैभन्दा खतरनाक मानिन्छ ।
क्याट प्रायः जेट स्ट्रिमबाट उत्पन्न हुन्छ– माथिल्लो वातावरणमा पश्चिमतर्फ तीव्र गतिमा बहने हावा, जसमा व्यावसायिक विमानहरू करिब १०–१२ किलोमिटर उचाइमा उड्छन् । जलवायु परिवर्तनले उष्णकटिबन्धीय क्षेत्रहरूलाई उच्च अक्षांशभन्दा छिटो तताइरहेको छ । यसले तापमान अन्तर बढाउँछ, जसले जेट स्ट्रिमको गति र हावाको गतिलाई बढाउँछ, अनि क्याटलाई ट्रिगर गर्ने अवस्था बनाउँछ ।
फौदाद र उहाँका सहकर्मीहरूले सन् १९८० देखि सन् २०२१ सम्मको डाटा अध्ययन गरेर गत वर्ष ‘जर्नल अफ जियोफिजिकल रिसर्चः एटमोस्फियर्स’ मा प्रकाशित पेपरमा लेख्नुभएको छ, “हामीले उत्तरी अटलान्टिक, उत्तरी अमेरिका, पूर्वी एसिया, मध्यपूर्व र उत्तरी अफ्रिकासहित धेरै क्षेत्रमा अशान्ति बढेको देख्यौँ ।”उहाँका अनुसार अशान्ति ६० देखि १५५ प्रतिशतसम्म बढेको छ । थप विश्लेषणले यसलाई हरितगृह ग्यास उत्सर्जनसँग जोडेको छ ।
अब के हुन्छ ?
युनिभर्सिटी अफ रिडिङकी शोधकर्ता इसाबेल स्मिथको नेतृत्वमा सन् २०२३ को अध्ययनले सतह तापक्रम प्रत्येक एक डिग्री सेल्सियसले बढ्दा उत्तरी अटलान्टिकमा जाडोमा मध्यम क्याट करिब नौ प्रतिशतले र गर्मीमा १४ प्रतिशतले बढेको पत्ता लगायो । जाडो ऐतिहासिक रूपमा अशान्तिको मौसम भए पनि अहिले गर्मी र शरद ऋतुमा पनि क्याट बढ्दै छ ।
जलवायु परिवर्तनले जेट स्ट्रिम मात्र नभई बलिया आँधीबेहरी पनि बढाइरहेको छ । शर्मनले भन्नुभयो, “भविष्यमा आँधीबेहरीको आवृत्ति र तीव्रता दुवै बढ्न सक्छन् र आँधीबेहरी नजिकको अशान्ति दुर्घटनाको प्रमुख कारण हो ।”समाधानका हिसाबले, फौदाद हाल दुई अध्ययनमा संलग्न हुनुहुन्छ : अशान्ति बढी हुने क्षेत्रबाट टाढा उडान मार्ग अनुकूलन गर्ने र पूर्वानुमानलाई अझ शुद्ध बनाउने । केही एयरलाइन्सहरूले केबिन सेवा पहिला नै समाप्त गर्ने जस्ता यात्रुहरूका लागि सधैँ सिटबेल्ट बाँध्ने रणनीति अपनाइरहेका छन् ।
शर्मनका अनुसार, जहाजमा लिडार जडान गरेर हावाको घनत्व र गतिमा साना परिवर्तन पत्ता लगाउने प्रविधि परीक्षण हुँदैछ । तर अन्ततः हरितगृह ग्यास उत्सर्जन घटाउनु नै दीर्घकालीन समाधान भएको फौदादले बताउनुभयो । मानवजन्य तापक्रमको करिब तीन दशमलव पाँच प्रतिशतका लागि उड्डयन क्षेत्र जिम्मेवार छ । इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसनका अनुसार प्रगति ‘धेरै ढिलो’ भए पनि एयरलाइन्सहरूले सफा इन्धन प्रयोग गरेर आफ्नो प्रभाव घटाउने प्रयास गरिरहेका छन् ।