अल्बानियामा विश्वकै पहिलो एआई मन्त्री ‘डिएला’, भ्रष्टाचारविरुद्ध क्रान्तिकारी कदमको घोषणा
- २८ भदौ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अल्बानियामा प्रधानमन्त्री एडी रामाले सार्वजनिक खरिद विभागका लागि विश्वकै पहिलो एआई मन्त्री ‘डिएला’ नियुक्त गरेका छन्। डिएला वास्तविक व्यक्ति नभई कृत्रिम बुद्धिमत्ताबाट सञ्चालित भर्चुअल असिस्टेन्ट हुन्। उनको नाम अल्बानियाली भाषामा ‘सूर्य’ भन्ने अर्थ दिने ‘डिएला’ राखिएको छ।
प्रधानमन्त्री रामाका अनुसार एआई मन्त्री नियुक्तिसँगै अब सार्वजनिक टेण्डर प्रक्रिया १०० प्रतिशत पारदर्शी र भ्रष्टाचारमुक्त हुनेछ। डिएलाले खर्चको दुरुपयोग रोक्ने, अनियमितता नियन्त्रण गर्ने र नागरिकलाई सरकारी सेवामा छिटो, दक्ष र पारदर्शी सुविधा उपलब्ध गराउने लक्ष्य लिएको बताइएको छ।
यद्यपि अल्बानियाको संविधानअनुसार मन्त्री बन्न कम्तीमा १८ वर्ष उमेर पुगेको, मानसिक रूपमा सक्षम नागरिक हुनुपर्ने प्रावधान भएकाले यो नियुक्ति प्रतीकात्मक मात्र हो। डिएला हाल नागरिकलाई सरकारी कागजात लिन मार्गदर्शन गर्ने डिजिटल असिस्टेन्टको भूमिकामा पनि सक्रिय छिन्।
विपक्षी डेमोक्र्याटिक पार्टीले यसलाई असंवैधानिक र हास्यास्पद भनेको छ। तर भ्रष्टाचारविरोधी विज्ञहरूले भने प्रविधि प्रयोगले सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता र विश्वास बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्। यसरी, अल्बानियाले एआईलाई सरकार सञ्चालनमै प्रयोग गर्दै नयाँ प्रयोगको थालनी गरेको छ।