२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

अमेरिकी कर नीतिबाट जापानी निर्यातमा ठूलो गिरावट

अमेरिकी कर नीतिबाट जापानी निर्यातमा ठूलो गिरावट

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कडाइका साथ लागू गरेको नयाँ कर नीतिका कारण जापानको अमेरिकातर्फको निर्यात अगस्ट महिनामा करिब १४ प्रतिशतले घटेको छ। यो पछिल्ला चार वर्षयताकै सबैभन्दा ठूलो गिरावट भएको तथ्याङ्क बुधबार सार्वजनिक भएको हो।

जापानको वित्त मन्त्रालयअनुसार अटो उद्योग सबैभन्दा प्रभावित क्षेत्र बनेको छ। अटोमोबाइल निर्यात २८.४ प्रतिशतले घटेको छ भने अटो पार्ट्स निर्यात ७.१ प्रतिशतले कम भएको छ। अमेरिकी बजारतर्फ हुने कुल जापानी निर्यातको झन्डै एकतिहाइ हिस्सा अटो क्षेत्रमा हुने भएकाले यसमा आएको गिरावटले समग्र निर्यातमै ठूलो असर पारेको हो।

ट्रम्पले लगाएका उच्च आयात शुल्कका कारण अटो उद्योगले मात्र २७.५ प्रतिशत लेवीको मार खेप्नुपरेको छ। यसले टोयोटा, होन्डा जस्ता कम्पनीसहित जापानी अटोमोबाइल उद्योगलाई गम्भीर दबाबमा पारेको छ। यो उद्योगले जापानको कुल रोजगारीको करिब आठ प्रतिशत हिस्सा ओगट्ने भएकाले आर्थिक प्रभाव अझै गहिरो हुने आकलन गरिएको छ।

यद्यपि मंगलबार लागु भएको नयाँ व्यापार सम्झौतापछि जापानी अटोमा लाग्ने शुल्क केही हदसम्म घटाइएको छ। अब कारलगायतका सवारी साधनमा १५ प्रतिशत भन्सार लाग्नेछ, जसलाई उद्योग क्षेत्रले अस्थायी राहतका रूपमा लिएको छ। तर, व्यापारिक लबीहरूले टोकियोले थप वार्ता अघि बढाउनुपर्ने धारणा राखेका छन्।

ट्रम्प प्रशासनले अमेरिकी उत्पादन बढाउने र व्यापार घाटा कम गर्ने उद्देश्यसहित विश्वभरका प्रमुख निर्यातक मुलुकहरूमा उच्च भन्सार दर तोकेको छ। यसले जापानको अमेरिकासँगको व्यापार अधिशेष पनि ५० प्रतिशतले घटाइ तीन खर्ब २४ अर्ब येन (करीब २.२ अर्ब डलर)मा सीमित गरेको छ।

विश्लेषकहरूका अनुसार कर नीतिको दबाबले जापानी निर्यातमा आगामी महिनाहरूमा अझै उतारचढाव ल्याउन सक्ने देखिन्छ, जसले दुई देशबीचको व्यापार सम्बन्धमा दीर्घकालीन तनाव सिर्जना गर्ने सम्भावना बढेको छ।