२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

मन्त्री घिसिङ र चिनियाँ राजदूतबीच भेटवार्ता, सडक र ऊर्जा क्षेत्रमा सहकार्यबारे छलफल

मन्त्री घिसिङ र चिनियाँ राजदूतबीच भेटवार्ता, सडक र ऊर्जा क्षेत्रमा सहकार्यबारे छलफल

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका राजदूत चेन सोङबीच आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा नेपाल–चीनबीचको सडक र प्रसारण लाइन कनेक्टिभिटी, ठेक्का लिएका आयोजनाको निर्माण प्रगति, ऊर्जा सहकार्य, चिनियाँ सहायतामा सञ्चालित आयोजना तथा लगानीका विषयमा छलफल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

मन्त्री घिसिङले काठमाडौँ–कोदारी (अरनिको) र स्याप्रुबेँसी–रसुवागढी सडकलाई स्थायी रूपमा सञ्चालनका लागि चिनियाँ प्रविधि प्रयोग गरी मर्मत–सम्भार गर्न सहयोग मागे। उनले काठमाडौँ चक्रपथ विस्तारअन्तर्गत कलङ्की–बसुन्धरा खण्ड तत्काल सुरु गर्न र किमाथाङ्का–नेपाल अन्तरदेशीय प्रसारण लाइन निर्माण अगाडि बढाउन आग्रह गरे।

यस्तै, उनले चिनियाँ कम्पनीले लिएका कमला–कञ्चनपुर आयोजना सन्तोषजनक नभएको जनाउँदै नारायणघाट–बुटवल र मुग्लिन–पोखरा सडक विस्तारमा गतिदिन सहयोग आवश्यक रहेको बताए।

राजदूत सोङले भने, छिमेकी मित्रराष्ट्र नेपाललाई प्राथमिकतामा राखेर चीनले यसअघि जस्तै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

भेटमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, विभागीय प्रमुख तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूको समेत उपस्थिति थियो।