इयुमा ड्रोन प्रतिरोध प्रणाली निर्माणबारे छलफल सुरु
- ११ अशोज २०८२
- १ मिनेटको पढाई
ब्रसेल्स- युरोपेली सङ्घ (इयु) का सदस्य राष्ट्रहरूले रूसबाट हुने सम्भावित ड्रोन आक्रमण रोक्न शुक्रबारदेखि ड्रोन प्रतिरोध प्रणाली निर्माणसम्बन्धी प्रारम्भिक छलफल सुरु गरेका छन्।
हालै डेनमार्कका विमानस्थलमा अज्ञात ड्रोनले अवरोध सिर्जना गरेको घटना र पोल्यान्डमा नाटोले रूसी ड्रोन खसालेको प्रसङ्गले युरोपको आकाशीय सुरक्षा आवश्यकतालाई अझै तीव्र बनाएको छ।
इयु अध्यक्ष उर्सुला फन डर लायनले यसअघि दिएको सम्बोधनमा युरोपेली भेउमा तत्काल प्रतिक्रिया दिनसक्ने साझा प्रणाली आवश्यक भएको बताएकी थिइन्।
यसैबारे करिब १० सदस्य राष्ट्रका रक्षा अधिकारीसँग इयु रक्षा आयुक्त आन्द्रियुस कुबिलियसले भिडियो सम्मेलनमार्फत छलफल गरेका छन्। छलफलमा पूर्वी सीमावर्ती देशहरू प्रमुख सहभागी बनेका छन् भने युक्रेनलाई पनि अनुभव र प्रविधि उपलब्ध गराउने अपेक्षासहित समावेश गरिएको छ।
परियोजनाको प्रारम्भिक चरणमा पूर्वी सीमामा ड्रोन पहिचान गर्ने संवेदनशील उपकरण थपिने योजना छ। दीर्घकालीन रूपमा एकीकृत ड्रोन खसाल्ने प्रणाली विकास गर्ने तयारी भइरहेको छ।
पोल्यान्डमा रूसी ड्रोन आक्रमण रोक्न नाटोले महँगा लडाकु विमान र क्षेप्यास्त्र प्रयोग गर्नु परेकाले, सस्तो र प्रभावकारी प्रणाली विकास अत्यावश्यक रहेको अधिकारीहरूको भनाइ छ।
इयुले यस परियोजनालाई आफ्नो रक्षा क्षमता सुदृढीकरणतर्फको महत्वपूर्ण पहल मानेको छ। यस विषयमा थप छलफल आगामी हप्ता कोपेनहेगन शिखर सम्मेलनमा हुने छ।