ड्रोन देखिएपछि म्युनिख विमानस्थलमा उडान स्थगित
- १७ अशोज २०८२
- १ मिनेटको पढाई
बर्लिन- जर्मनीको म्युनिख विमानस्थलमा बिहीबार राति अनेकौँ ड्रोन देखिएपछि उडानहरू तत्काल रोकिएका छन् । विमानस्थल प्रशासनका अनुसार करिब १७ उडान स्थगित भएका छन् भने झण्डै ३ हजारभन्दा बढी यात्रु प्रभावित भएका छन् ।
त्यस्तै, अवतरणमा रहेका १५ विमानलाई आपत्कालीन रूपमा स्टटगार्ट, न्युरेमबर्ग, भियना र फ्रान्कफर्टतर्फ मोडिएको छ । सुरक्षाका कारण दुवै धावनमार्ग करिब एक घण्टासम्म बन्द गरिएको प्रहरी प्रवक्ताले जनाएका छन् ।
यात्रुहरूको असुविधा कम गर्न अस्थायी रूपमा क्याम्प बेड, कम्बल, खाजा र पेय पदार्थ उपलब्ध गराइएको छ । तर उडान कहिले पुनः सञ्चालनमा आउने भन्नेबारे निश्चित जानकारी दिइएको छैन ।
जर्मन अधिकारीहरूले ड्रोनको स्रोत पत्ता लगाउन खोजी सुरु गरेका छन् । हेलिकप्टर तैनाथ गरिएको भए पनि ड्रोनको सङ्ख्या र प्रकारबारे आधिकारिक विवरण पाइएको छैन ।
यो घटना विश्वविख्यात ओक्टोबर्फेस्ट महोत्सवको पूर्वसन्ध्यामा भएको हो । हालै कोपेनहेगन, ओस्लो र वार्सामा पनि यस्तै घटना दोहोरिएपछि युरोपका देशहरू उच्च सतर्क अवस्थामा छन् ।
जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्डले ड्रोन आक्रमणलाई “हाइब्रिड खतराको नयाँ रूप” भन्दै आवश्यक परे हवाई क्षेत्रमा देखिने सम्भावित ड्रोन खसाल्न सक्ने चेतावनी दिएका छन् ।