२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

युक्रेनलाई अमेरिकी मिसाइल आपूर्ति गरे सम्बन्धमा असर पर्ने पुटिनको चेतावनी

युक्रेनलाई अमेरिकी मिसाइल आपूर्ति गरे सम्बन्धमा असर पर्ने पुटिनको चेतावनी

मस्को- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र उपलब्ध गराए रूस–अमेरिका सम्बन्धमा गम्भीर असर पर्ने चेतावनी दिएका छन् । तर उनले यस्तो कदमले युद्धको मैदानमा ठूलो परिवर्तन ल्याउन नसक्ने दाबी पनि गरे ।

सोचीमा आयोजित अन्तर्राष्ट्रिय फोरममा बोल्दै पुटिनले अमेरिकी ‘टोमहाक क्रुज मिसाइल’ युक्रेनमा पठाइएमा दुवै मुलुकको सम्बन्ध नयाँ चरणमा पुग्ने बताए । उनले रूसी सेनाले हवाई सुरक्षा प्रणालीलाई नयाँ खतरासँग छिट्टै अनुकूलन गर्ने विश्वास व्यक्त गरे ।

“मिसाइलले केही क्षति पुर्‍याउन सक्छ, तर युद्धको सन्तुलन बदलिँदैन,” उनले भने । पुटिनले रूस नाटो गठबन्धनसँग लडिरहेको दाबी गर्दै आफ्नो पक्ष बलियो बन्दै गएको बताए ।

त्यस्तै उनले अमेरिकी राष्ट्रपति ट्रम्पसँग गत अगस्टमा भएको शिखर बैठकलाई सकारात्मक भन्दै युक्रेन संकट समाधानबारे छलफल फलदायी भएको टिप्पणी गरे ।

पुटिनले न्यु–स्टार्ट सन्धि अझ एक वर्षका लागि विस्तार गर्ने प्रस्ताव दोहोर्‍याउँदै आवश्यक परे रूसले आणविक क्षमतामा आत्मविश्वासका साथ प्रतिक्रिया दिने चेतावनी पनि दिए ।

युक्रेनलाई सहयोग गर्ने मुलुकहरूले रूसी तेल ट्याङ्कर नियन्त्रण गर्ने प्रयासलाई उनले ‘समुद्री डकैती’ संज्ञा दिए । फ्रान्सप्रति व्यङ्ग्य गर्दै राष्ट्रपति इमानुएल म्याक्रोनलाई ‘नेपोलियन’ सँग तुलना गरे ।

डेनमार्कसहित युरोपमा देखिएका अज्ञात ड्रोन घटनाबारे पुटिनले नाटोले रक्षा खर्च बढाउन गरेको नाटक मात्र भएको दाबी गरे ।

यसैबीच, अमेरिकी कार्यकर्ता चार्ली किर्कको हत्याबारे उनले अमेरिकाको गहिरो विभाजनको उदाहरण भने । किर्कलाई ‘परम्परागत मूल्यका नायक’ भन्दै प्रशंसा गरे ।