२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

बिटक्वाइनको मूल्य १ लाख २५ हजार डलर नाघ्यो

बिटक्वाइनको मूल्य १ लाख २५ हजार डलर नाघ्यो

टोकियो- विश्वकै प्रमुख क्रिप्टोकरेन्सी बिटक्वाइन आइतबार नयाँ रेकर्ड उचाइमा पुगेको छ। यसको मूल्य १ लाख २५ हजार अमेरिकी डलरभन्दा माथि पुगेको छ।

बिटक्वाइनको मूल्य १ लाख २५ हजार ६८९ डलरसम्म उक्लिँदा यसले गत अगस्टमा कायम गरिएको १ लाख २४ हजार ५०० डलरको रेकर्ड तोडेको हो।

विश्लेषकहरूले अमेरिकी सरकारको सटडाउनबारे देखिएको अनिश्चितता र सतर्कताले बिटक्वाइनको मूल्य बढाएको बताएका छन्। साथै, अमेरिकी सेयर बजारमा हालै आएको लाभले पनि बिटक्वाइनको वृद्धि अझ तीव्र बनाएको ब्लुमबर्गले जनाएको छ।

लगानीकर्ताहरू अहिले संघीय कोषसम्बन्धी वार्ता जारी रहँदा सुरक्षित सम्पत्तिको खोजीमा छन् र बिटक्वाइन त्यसको प्रमुख विकल्प बन्दै गएको विश्लेषकहरूको निष्कर्ष छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको परिवार क्रिप्टोकरेन्सीका ठूला समर्थक मानिन्छन्। उनीहरू विभिन्न क्रिप्टो परियोजनामा संलग्न रहँदै आएका छन्, जसले उनीहरूको सम्पत्ति वृद्धिमा मद्दत गरेको बताइन्छ।

ट्रम्प प्रशासनले डिजिटल सम्पत्तिप्रतिको समर्थनका माध्यमबाट जो बाइडेन सरकारअन्तर्गत क्रिप्टो उद्योगमाथि रहेको संदेहपूर्ण दृष्टिकोण उल्ट्याएको हो। अमेरिकी कङ्ग्रेसले यसै वर्ष जुलाईमा तीन ऐतिहासिक क्रिप्टो विधेयकहरू पारित गरेको थियो।

यी नियामक सुधारहरूले बिटक्वाइनको मूल्य वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको विश्लेषकहरूको भनाइ छ।

क्रिप्टो ब्रोकरेज कम्पनी फाल्कनएक्स का बजार विभाग सह–प्रमुख जोशुआ लिमले भने,
“इक्विटी, सुन र पोकेमोन कार्डजस्ता सम्पत्तिहरू सबै ऐतिहासिक उच्चस्तरमा पुगेका बेला बिटक्वाइनले डलर कमजोर भएको कथाबाट फाइदा उठाउनु कुनै आश्चर्य होइन,” भनेर बताएका छन्।