२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार

भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार

न्युयोर्क – भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले शुक्रबार प्रतिष्ठित नोबेल शान्ति पुरस्कार जितेकी छन्।

नर्वेजियन नोबेल समितिका अध्यक्ष जोर्गन वाटने फ्राइड्नेसले मचाडोलाई गहिरो रूपमा विभाजित राजनीतिक विपक्षमा साझा आधार खोज्ने एकीकृत र साहसी नेतृ भनेर सम्मान गरेका हुन्।

उनका भनाइमा, गत वर्ष मचाडोलाई लुकेर बस्न बाध्य पारियो। जीवनमा ठूला खतरा हुँदाहुँदै पनि उनले देशमै रहेर लाखौँलाई प्रेरित गरिन्। अधिनायकवादी सत्ता विरुद्ध उठ्ने र प्रतिरोध गर्ने साहसी व्यक्तिहरूलाई चिन्नु जरुरी हुन्छ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको सरकारले गत वर्षको चुनावअघि मचाडोलाई अयोग्य ठहर गर्दै उनको उम्मेदवारी रोकेको थियो। त्यसपछि उनलाई विस्थापित गरेर एडमुन्डो गोन्जालेजलाई उम्मेदवार बनाइएको थियो।

त्यसअघि भएका निर्वाचनमा दमन, मानव अधिकार उल्लङ्घन र गिरफ्तारीका घटना बढेका थिए। गोन्जालेज विजेता घोषणा भएपछि देशभर प्रदर्शन भड्किए र २० जनाभन्दा बढीको मृत्यु भयो। यसले भेनेजुएला र अरू राष्ट्रबीच कूटनीतिक तनाव पनि बढायो। मचाडो त्यही समयमा लुकेकी थिइन् र जनवरीदेखि सार्वजनिक रूपमा देखिएकी छैनन्।

नोबेल समितिले प्रायः शान्ति, अन्तर्राष्ट्रिय मित्रता र मानवताको पक्षमा काम गर्ने व्यक्ति वा संस्थालाई सम्मान गर्छ।

गत वर्ष यो पुरस्कार जापानी संस्था ‘निहोन हिडान्क्यो’ लाई दिइएको थियो, जसले दशकौँदेखि आणविक हतियार प्रयोग रोक्न अभियान चलाउँदै आएको छ।

शान्ति पुरस्कार हरेक वर्ष नर्वेको ओस्लोमा दिइन्छ। यसैबीच, स्विडेनको स्टकहोममा चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यका पुरस्कारहरू वितरण भइसकेका छन्, र अर्थशास्त्रको पुरस्कार सोमबार घोषणा हुने अपेक्षा छ।