अर्जेन्टिनामा भेटियो विश्वकै सबैभन्दा पुरानो डायनोसरको अवशेष
- ३० अशोज २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अर्जेन्टिनाका वैज्ञानिकहरूले एन्डिज पर्वतको उचाइमा विश्वकै सबैभन्दा पुरानो डायनोसर प्रजातिको हड्डी फेला पारेका छन्।
कोनिसेट अनुसन्धान संस्थाका अनुसार टोलीले उत्तरपश्चिम अर्जेन्टिनामा करिब तीन हजार मिटर उचाइमा ह्वायराकुर्सर जागुएन्सिस नामको सानो, लामो घाँटी भएको डायनोसरको लगभग पूरा कङ्काल भेटेको हो।
शोधकर्ताहरूले खोपडीको अंशदेखि पुच्छरसम्म फैलिएको हाडहरूको लामो श्रृंखला, अगाडिका र पछाडिका अङ्गहरू समेत राम्रो अवस्थामा सुरक्षित अवस्थामा फेला पारेका छन्। यो खोज नेचर पत्रिकामा प्रकाशित भएको छ र वैज्ञानिकहरूले यसले डायनोसरहरूको विकासक्रम बुझ्न ठूलो मद्दत गर्ने बताएका छन्।
मुख्य लेखक अगस्टिन मार्टिनेलीका अनुसार यो डायनोसर करिब २३० देखि २२ करोड ५० लाख वर्षअघि बाँच्थ्यो। त्यसैले यो अहिले सम्म पत्ता लागेको सबैभन्दा पुरानो डायनोसरमध्ये एक हो।
शोधअनुसार ह्वायराकुर्सर जागुएन्सिस वयस्क अवस्थामा दुई मिटर लामो र करिब १८ किलो तौलको थियो। यो प्रजाति ट्रायासिक युगको अन्त्यतिरको हो – जब पृथ्वीमा पहिलो डायनोसर र स्तनपायीका पुर्खाहरू देखा पर्न थालेका थिए।
वैज्ञानिकहरूका अनुसार यो खोजले पृथ्वीको सुरुवाती जीवन र डायनोसरहरूको विकासक्रमबारे नयाँ दृष्टिकोण ल्याउनेछ।