एआईले उत्पादन बढाए पनि असमानता झन् चर्किन सक्ने चेतावनी : आइएमएफ प्रमुख
- ३१ अशोज २०८२
- १ मिनेटको पढाई
वासिङ्टन- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुख क्रिस्टालिना जोर्जिएवाले कृत्रिम बुद्धिमत्ता (एआई) ले उत्पादनशीलता बढाउने भए पनि यसले देशभित्र र देशबीच असमानता बढाउने खतरा रहेको बताएकी छिन्।
विश्व बैंक समूह र आईएमएफको सन् २०२५ वार्षिक बैठकका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले भनिन्, “एआईले विश्व अर्थतन्त्रको वृद्धिमा ०.१ देखि ०.८ प्रतिशतसम्म योगदान दिन सक्छ, जुन निकै ठूलो कुरा हो।”
तर, उनले जोड दिइन्, “एआईको फाइदा सबैले समान रूपमा पाउने छैनन्। प्रविधि अपनाउन सक्षम देश र पछि परेकाबीचको दूरी अझ बढ्न सक्छ।” आईएमएफले हालै सार्वजनिक गरेको विश्व आर्थिक दृष्टिकोण प्रतिवेदन अनुसार सन् २०२५ मा विश्व अर्थतन्त्रको वृद्धि दर ३.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ, तर २०२६ मा यो ३.१ प्रतिशतमा झर्ने सम्भावना छ।
जोर्जिएवाले भने, “यदि एआईबाट थोरै मात्र थप वृद्धि गर्न सकियो भने पनि, यो विश्वका लागि ठूलो उपलब्धि हुनेछ। तर त्यसका लागि देशहरू एआई प्रयोग गर्न तयार हुनुपर्छ।” उनका अनुसार, आईएमएफले अहिले ‘एआई तयारी सूचकाङ्क’ तयार पारेको छ, जसले देशहरूलाई एआई प्रयोगका लागि आवश्यक चार आधारमा मूल्याङ्कन गर्छ।
उनी भन्छिन्, “कसैले एआईबाट ठूलो लाभ पाउँछन् भने कसैले त्यसकै कारण बेरोजगारी वा अवसर गुमाउन सक्छ। त्यसैले नीति निर्माण र तयारी अहिले नै सुरु गर्न जरुरी छ।”
सोही अवसरमा उनले ‘ग्लोबल नीति एजेन्डा’ पनि सार्वजनिक गर्दै विश्व अर्थतन्त्रका लागि तीन प्रमुख प्राथमिकता तय गरेकी छिन् – स्थिरता, प्रविधि–मैत्री विकास र असमानता घटाउने नीति।