अमेरिका-अष्ट्रेलिया सम्झौता : चीनको दुर्लभ धातुमा एकाधिकार तोड्ने तयारी
- ०४ कार्तिक २०८२
- १ मिनेटको पढाई
वासिङटन- अमेरिका र अष्ट्रेलियाले दुर्लभ खनिज र धातु आपूर्तिका लागि नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। यो सम्झौता चीनको यस क्षेत्रमा रहेको प्रभुत्वलाई चुनौती दिने रणनीतिको हिस्सा मानिएको छ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजका अनुसार सम्झौताबाट करिब ८.५ अर्ब डलर बराबरको खानी तथा प्रशोधन परियोजना अघि बढाइनेछ। दुई देशले आगामी छ महिनाभित्र एक अर्ब डलर बराबरको लगानी गर्ने योजना बनाएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका फर्स्ट’ नीतिअनुसार देशलाई दुर्लभ खनिजमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको बताए।
हाल चीनले विश्वको ७० प्रतिशत खनिज उत्खनन र ९० प्रतिशत प्रशोधन नियन्त्रणमा राखेको छ। ती खनिजहरू मोबाइल, कम्प्युटर चिप्स, गाडी र रक्षा उपकरणमा प्रयोग हुन्छन्।
अल्बानिजले भने, “यो सम्झौताले अष्ट्रेलियामा प्रशोधन उद्योगमा अमेरिकी लगानी बढाएर आपूर्ति शृङ्खला सन्तुलित बनाउनेछ।”
अमेरिकाले पश्चिमी अष्ट्रेलियामा ग्यालियम रिफाइनरी निर्माण र २.२ अर्ब डलर बराबरको कोषमार्फत अन्य परियोजनाहरू अघि बढाउने योजना पनि घोषणा गरेको छ।
विश्लेषकहरूले यो सम्झौताले चीनमाथिको निर्भरता घटाउने र अमेरिका–अष्ट्रेलिया साझेदारी अझ बलियो बनाउने टिप्पणी गरेका छन्।