अमेरिका–भारत व्यापार सम्बन्धमा उच्चस्तरीय छलफल
- १० कार्तिक २०८२
- १ मिनेटको पढाई
क्वालालम्पुर – अमेरिका र भारतबीच बढ्दो व्यापार तनाव बीच विदेशमन्त्री स्तरमै सीधा भेट भएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियो र भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्कर सोमबार मलेसियामा भेटिएर टेबलमा कुरा मिलाउने प्रयास गरे।
अमेरिकाले भारतमाथि भन्सार शुल्क बढाएपछि सम्बन्धमा चिसोपन आएको थियो। त्यसमाथि रूसी तेल किन्दै आएको भन्दै अमेरिकाले भारतलाई आरोप तेस्र्याउँदै प्रतिबन्ध तिर मोडिएको छ।
यही विषयले दुईतर्फी व्यापारमा धुवाँ उठाइरहेकै बेला भएको यो भेटलाई कूटनीतिक ‘आइस ब्रेक’ मानिएको छ।
जयशङ्करले सामाजिक सञ्जाल एक्समा रुबियोसँग हात मिलाएको फोटो शेयर गर्दै लेखे, “द्विपक्षीय सम्बन्ध र विश्वकै चासोका विषयमा राम्रो छलफल भयो।”
दुवै मन्त्रीको यो भेट दक्षिणपूर्वी एसियाली शिखर सम्मेलनकै छेउछाउमा मिलेको हो। सो कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रत्यक्षै थिए भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भिडियोमार्फत जोडिएका थिए।
ट्रम्प प्रशासनले गत अगस्टदेखि भारतमाथि ५० प्रतिशतसम्म शुल्क बढाइदिएको छ। अमेरिकाको भनाइ छ– भारतले रुसबाट सस्तो तेल किन्दै युद्धलाई सहयोग गरिरहेछ।
ट्रम्पले भर्खरै मोदीसँग फोनमा कुरा भएपछि भारतले रूसी तेल कटौती गर्न मानेको दाबी गरेका छन्। तर भारतले यसबारे आधिकारिक प्रतिक्रिया अझै पनि दिएको छैन।