२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

भारत–अमेरिका बीच १० वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर

भारत–अमेरिका बीच १० वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर

मलेसिया- भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकी युद्धमन्त्री पिट हेगसेथले शुक्रबार क्वालालम्पुरमा १० वर्षे भारत–अमेरिका प्रमुख रक्षा साझेदारी ढाँचामा हस्ताक्षर गरेका छन्।

सम्झौता भारत–अमेरिका बीचको रणनीतिक सहकार्यलाई बलियो बनाउने उद्देश्यले गरिएको हो। अमेरिकी युद्धमन्त्री हेगसेथले आफ्नो एक्समा लेख्दै भने, “भारतसँगको सम्बन्ध पहिले कहिल्यै यति बलियो भएको थिएन। यो सम्झौताले क्षेत्रीय स्थिरता र प्रतिरोधका लागि आधारशिला तयार गर्नेछ।”

उनले थपे, “हाम्रो सहकार्य, सूचना आदानप्रदान र प्रविधिक तालमेल अब नयाँ स्तरमा पुग्नेछ।”

भारतीय रक्षामन्त्री सिंहले यो भेटवार्ता फलदायी भएको र सम्झौताले रक्षा सम्बन्धको नयाँ युगको सुरुआत गर्ने बताए। उनले एक्समा लेखे, “यो ढाँचाले भारत–अमेरिका रक्षा सम्बन्धको सम्पूर्ण दायरालाई स्पष्ट नीतिगत दिशा दिनेछ। रक्षा क्षेत्र हाम्रो द्विपक्षीय सम्बन्धको प्रमुख स्तम्भका रूपमा रहिरहनेछ।”

क्वालालम्पुरमा आयोजित आसियान–भारत रक्षा मन्त्रीहरूको अनौपचारिक बैठकको अवसरमा भएको यो भेटले इन्डो–प्यासिफिक क्षेत्रमा क्षेत्रीय स्थिरता र रणनीतिक सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।