२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

एपेक शिखर सम्मेलन सम्पन्न, ट्रम्प–सीको व्यापार सहमतिपछि क्षेत्रीय सहकार्यमा जोड

एपेक शिखर सम्मेलन सम्पन्न, ट्रम्प–सीको व्यापार सहमतिपछि क्षेत्रीय सहकार्यमा जोड

दक्षिण कोरिया — एसिया–प्रशान्तका २१ देशका नेताहरू सहभागी एपेक शिखर सम्मेलन दक्षिण कोरियाको ग्योङ्जुमा सम्पन्न भएको छ। सम्मेलनले साझा समृद्धि र आर्थिक सहकार्यमा जोड दिएको छ।

यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच व्यापार युद्ध अन्त्य गर्ने सहमति भएको केही दिनमै आएको हो। दुई दिन चलेको सम्मेलनपछि जारी वक्तव्यमा नेताहरूले विश्व अर्थतन्त्रमा देखिएका चुनौती पार गर्न सहकार्य र बहुपक्षीयतामा जोड दिएका छन्।

ट्रम्प र सीबीच बिहीबार साइडलाइनमा भएको भेटपछि अघिल्ला व्यापार अवरोध फिर्ता लिने सहमति भएको थियो। त्यसपछि ट्रम्प दक्षिण कोरियाबाट प्रस्थान गरे, जसले सीलाई सम्मेलनमा प्रमुख भूमिका दिलायो।

वक्तव्यमा भनिएको छ — विश्वव्यापी व्यापार प्रणाली गम्भीर चुनौतीमा छ, एसिया–प्रशान्तको विकासका लागि बलियो व्यापार र लगानी अपरिहार्य छ।
नेताहरूले सन् २०२० मा स्वीकृत पुत्रजया भिजन २०४० प्रति पुनःप्रतिबद्धता जनाएका छन्, जसले स्वतन्त्र, निष्पक्ष र पारदर्शी व्यापारको लक्ष्य राखेको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले सम्मेलनमा विश्वव्यापी स्वतन्त्र व्यापार र आपूर्ति शृङ्खलाको स्थिरता समर्थन गर्ने घोषणा गरे। उनले सन्देशमार्फत भने, “चीनमा लगानी गर्नु भनेको भविष्यमा लगानी गर्नु हो।”

उनले जापान, क्यानाडा र थाइल्यान्डका प्रधानमन्त्रीसँग भेट गरे भने शनिबार दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङसँग भेट तय थियो। सो भेटमा कोरियाली प्रायद्वीपको आणविक निःशस्त्रीकरण प्रमुख एजेन्डा बनाइए पनि उत्तर कोरियाले त्यसलाई ‘दिवास्वप्न’ भन्दै तीव्र प्रतिक्रिया दिएको छ।

राष्ट्रपति लीले भने, “कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरता एसिया–प्रशान्त क्षेत्रको समृद्धिको आधार हो,” भन्दै उत्तरसँग मेलमिलापका लागि सक्रिय पहल गर्ने घोषणा गरे।

शनिबारको सत्रमा कृत्रिम बौद्धिकता (एआई), जनसङ्ख्यिकीय समस्या र सांस्कृतिक उद्योगमा सहकार्यबारे पनि छलफल भयो। नेताहरूले दुई वक्तव्य जारी गर्दै एआईलाई आर्थिक उत्प्रेरकका रूपमा उपयोग गर्न र घट्दो जन्मदर तथा वृद्ध जनसङ्ख्याजस्ता चुनौती सामना गर्न साझा कदम चाल्ने प्रतिबद्धता जनाए।

सन् १९८९ मा स्थापना भएको एपेकले स्वतन्त्र र खुला व्यापारमार्फत क्षेत्रीय आर्थिक एकीकरणको लक्ष्य लिएको छ। तर पछिल्ला वर्षमा अमेरिका–चीन प्रतिस्पर्धा, आपूर्ति शृङ्खला अवरोध र एआईको प्रभावले यस क्षेत्रमा नयाँ चुनौती थपेका छन्।

ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीति र उच्च कर प्रणालीले विश्व बजारमा अनिश्चितता बढाएको विश्लेषकहरूले बताएका छन्। उनीहरूका अनुसार, दशकौँदेखि चलिरहेको विश्वव्यापीकरणको धार अहिले नयाँ मोडमा पुगेको छ।